पराजयको दोष कसैलाई दिन्न, टिमवर्कको स्प्रिटअनुसार भोट आएन : डा.प्रकाशशरण महत

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री पदमा पराजित भएपछि नेता डा.प्रकाशशरण महतले मतदाता र शुभेच्छुकहरूलाई धन्यावाद दिएका छन् ।

आइतबार बिहान नेपाली रेडियो नेटवर्कमा अन्तर्वार्ताका क्रममा डा.महतले मतदाताहरूले आफूलाई उल्लेख्य मत दिएको बताए । उनले आफूलाई केन्द्रविन्दुमा राखेर कहिल्यै पनि काम नगरेको भन्दै सधैँ पार्टीका लागि काम गरेको बताएका छन् ।

‘मैले यो पार्टीलाई सधैँ व्यक्तिगत कुरालाई केन्द्रविन्दुमा राखिन । आफ्नो प्रमोशनलाई केन्द्रविन्दुमा राखिन’, उनले भने, ‘जनता र देशलाई सधैँ केन्द्रविन्दुमा राखेर काम गर्दै आएको व्यक्ति हो ।’

उनले भनेका छन्, ‘महामन्त्रीमा म उम्मेदवार थिएँ । हार्दा पनि २०१९ मत छ । तैपनि म हारेको अवस्था छ । म हार्नुमा मैले साथीहरूलाई कन्भिन्स गर्नसकिनछु भन्नु प¥यो ।’

‘होइन भने कहाँ के कुराहरू भए ? कस्तो कस्तो षड्यन्त्र भए ? ती कुराहरू खुल्दै जानेछन्’, नेता डा.महतले भनेका छन् ।

तपाईलाई आफ्नै नेताहरूले साथ दिएनन् नि भन्ने जिज्ञासामा डा.महतले भने, ‘मैले मत पाएन । मत नपाएपछि कसैलाई दोष दिनुको के अर्थ छ र ? टिमवर्कको स्प्रिटमा हुनुपर्थ्यो । टिमवर्कको स्प्रिट भएको मैले पाएन ।’

‘मत मैले कम पाएँ । हार्दा पनि धेरै मत प्राप्त गरेको छु’, नेता डा.महतले भनेका छन् ।

महामन्त्रीमा हराउन आफ्नै समूहभित्र असहयोग भएको भनेर टिकाटिप्पणी आइरहेका बेला डा.महतले सो विषयमा धेरै कुरा खोल्न चाहेनन् ।

Published : Sunday, 2021 December 19, 9:58 am

फेसबुकबाट तपाईको प्रतिक्रिया