खतिवडाले दिए देउवालाई बधाई, मिलेर कांग्रेस बनाउन अनुरोध

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएपछि खुसी व्यक्त गर्दै कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले शुभकामना तथा बधाइ दिएका छन् ।

बुधबार खतिवडाले सामाजिक सञ्जालमार्फत देउवालाई शुभकामना तथा बधाइ दिएका छन् । उनले कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूलाई ऐतिहाँसिक जिम्मेवारी दिएको भन्दै कार्यकर्ताको भावना र विश्वासलाई देउवाले पूरा गर्ने बताए ।

‘देशभरिका महाधिवेशन प्रतिनिधिहरूले विश्वास गरेर जिताउनुभएको छ । उहाँहरूले देउवालाई नै फेरि जिम्मेवारी दिनुभएको छ । त्यो जिम्मेवारीलाई हामी सबै मिलेर पूरा गर्नुपर्छ’, खतिवडाले भनेका छन्, ‘सभापतिलाई सफल बनाउने दायित्व हामी कार्यकर्ताको पनि हो ।’

नेता खतिवडाले महाधिवेशनको बेला भएका तितामीठा कुरालाई भुलेर एकतावद्ध बनेर कांग्रेसलाई बलियो र शक्तिशाली पार्टी बनाउन लाग्न अनुरोध गरेका छन् ।

असहमति र असन्तुष्टिलाई महाधिवेशनमै अन्त्य गरेर नयाँ ढंगले अगाडि बढ्नुपर्ने खतिवडाले बताएका छन् ।

खतिवडा कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवार बनेका छन् । उनको नतिजा आउन बाँकी छ ।

Published : Wednesday, 2021 December 15, 11:08 am

फेसबुकबाट तपाईको प्रतिक्रिया