निधिले पनि सभापतिमा देउवालाई साथ दिए

काठमाडौं । नेपाली कांग्रेस नेता विमलेन्द्र निधिले पनि सभापतिका उमेदवार शेरबहादुर देउवालाई समर्थन गरेका छन् ।

काठमाडौंको भीमसेनगोलामा मंगलबार बिहान निधिको निवासमा देउवा निधिबीच भएको भेटवार्तामा निधिले देउवालाई समर्थन गर्ने सहमति भएको हो । निधिले पत्रकारहरूसँग कुरा गर्दै आफूले पनि देउवालाई समर्थन गर्ने जानकारी दिएका छन् ।

सभापतिका उम्मेदवार देउवालाई यसअघि नै प्रकाशमान सिंहले समर्थन गरेका थिए । सिंहलाई भेटेर देउवा नेता निधिलाई भेट्न पुगेका थिए ।

मंगलबार बिहान भएको मतगणनामा सभापति पदमा कुनै उम्मेदवारले बहुमत प्राप्त गर्न सकेनन् ।

कूल खसेको ४ हजार ६७९ मतमा शेरबहादुर देउवाले २२५८ मत ल्याएका थिए। सभापतिका अर्का उम्मेदवार शेखर कोइरालाले १७०२ मत प्राप्त गरेका छन् ।

प्रकाशमान सिंह ३७१, विमलेन्द्र निधिले २५०, कल्याण गुरुङले २२ मत ल्याएका छन् ।

पार्टीको विधानअनुसार कांग्रेसको सभापतिमा निर्वाचित हुनका लागि कूल खसेको ५० प्रतिशत धेरै मत हुनुपर्छ ।

Published : Tuesday, 2021 December 14, 12:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया