गणेशमान सिंहको छोराको ‘धमाका’ निर्णय, देउवा खुसीले ‘फुरुङ्ग’

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले दोस्रो चरणको सभापतिको निर्वाचनमा शेरबहादुर देउवालाई समर्थन गर्ने निर्णय गरेका छन् ।

काठमाडौंको ठमेलस्थित चाक्सीबारीमा रहेको आफ्नै निवासमा भेट्न आएका प्रधानमन्त्री समेत रहेका सभापतिका उम्मेदवार देउवासँगको भेटवार्तामा सिंहले समर्थन गर्ने निर्णय सुनाएका हुन् । सिंहको जवाफ सुनेपछि देउवा खुसी भएर फुङ्ग हुँदै फर्किएका छन् ।

देउवासँगको भेटपछि सम्वाददाताहरूसँग कुरा गर्दै नेता सिंहले भने, ‘हामीले दोस्रो चरणको निर्वाचनमा देउवाजीलाई सहयोग गरेर जाने निर्णय गरेका छौं ।’

‘नेतृत्व परिवर्तन गर्नुपर्छ भनेर हामी प्रतिस्पर्धामा उत्रिएका हौं’, उनले भने, ‘देशभरिका बहुमत महाधिवेशन प्रतिनिधिले देउवाजीको पक्षमा मत जाहेर गरे ।’

नेता सिंहले भने, ‘देउवाजीले मलाई सहयोग गर्न भन्नुभएको छ । विधान संशोधन र पार्टीमा भइरहेका कमिकमजोरी सच्याउने प्रतिवद्धता जाहेर गर्नुभएको छ ।’

‘पार्टीभित्र सुधार ल्याउन र देउवाले कार्यशैली परिवर्तन गर्नुपर्नेछ’, नेता सिंहले भनेका छन् ।

दोस्रो चरणको सभापतिको चुनावमा देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा हुनेछ ।

सिंहले देउवालाई समर्थन गर्ने निर्णयसँगै देउवा सभापतिमा निर्वाचित हुने लगभग निश्चिन जस्तै भएको छ ।

पहिलो चरणको चुनावमा देउवाले २२५८ र कोइरालाले १७०२ मत पाएका थिए । देउवा ८२ मतले ५१ प्रतिशत मत पाउनबाट बञ्चित भएका थिए ।

सिंहले ३७१ मत पाएका थिए । विमलेन्द्र निधिले २४९ मत पाएका थिए । कल्याण गुरुङले २० मत पाएका थिए ।

देउवालाई समर्थन गरेर नेता प्रकाशमान सिंहले गुन लगाएका छन् । कोइराला परिवारका कारण गणेशमान सिंहले कांग्रेस पार्टी छाड्नु परेको थियो ।

कोइराला परिवारकै कारण कृष्णप्रसाद भट्टराई ‘किशुनजी’ले पनि कांग्रेस छाडेर बस्नु परेको थियो । सिंहले कोइराला परिवारलाई साथ नदिएर गणेशमान सिंह र किशुनजीप्रति गरेको अन्यायको बदला लिएका छन् ।

Published : Tuesday, 2021 December 14, 12:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया