कांग्रेसको राति ९ बजेसम्म समय थप, २ हजारभन्दा धेरै मत खस्यो

काठमाडौं । केन्द्रीय निर्वाचन समितिले नेपाली कांग्रेसले मतदान गर्ने समय लम्बाएको छ ।

सोमबार बिहान पौने १२ बजेदेखि शुरु भएको मतदानको समय राति ९ बजेसम्म थप गरिएको विज्ञप्तिमा उल्लेख छ ।

बिहान ८ बजेदेखि निर्धारित मतदान समय मतपत्र छपाई हुन नसकेका कारण झण्डै चार घण्टापछि मात्र शुरु भएको थियो ।

निर्वाचनमा मतदाताको संख्या र हालसम्म खसेको मतको संख्यालाई मध्यनजर गरी आज राती ९ बजेसम्म मतदान गर्ने समय थप गरिएको निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिएका छन् ।

कांग्रेस १४औँ महाधिवेशनमा चार हजार ७४३ मतदाता रहेका छन् । साँझ ५ बजेसम्म दुई हजारभन्दा बढी मत खसेको समितिले जनाएको छ ।

१३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

मतदान गर्नका लागि राष्ट्रिय सभा गृहमा एक स्थान र भृकुटीमण्डपमा दुई स्थानमा मतदानको व्यवस्था गरिएको छ ।

कांग्रेसका नेता कुलबहादुर गुरुङले पहिलो मत खसालेका छन् । एक जना प्रतिनिधिलाई मतदान गर्न करीब आधा घण्टा समय लाग्ने जनाइएको छ ।

कांग्रेस विधानअनुसार १६७ सदस्यीय कार्यसमितिमध्ये १३४ पदमा निर्वाचन हुने र बाँकी ३३ सदस्य केन्द्रीय सभापतिबाट मनोनीत हुने व्यवस्था छ ।

सभापतिका उम्मेदवार प्रधानमन्त्री शेरबहादुर देउवाले पनि मतदान गरेका छन् ।

Published : Monday, 2021 December 13, 5:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया