दीपक गिरीले पाए खुला सदस्यमा लक्की नं. ३६, मतदान गर्न अपील

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री दीपक गिरीले आफूलाई ३५ जना केन्द्रीय सदस्यको खुलातर्फ क्रम संख्या ३६ मा मतदान गर्न अपील गरेका छन् ।

काठमाडौंका भृकुटीमण्डपस्थित महाधिवेशनस्थलमा आइतबार पत्रकारहरूसँग कुरा गर्दै गिरीले आफूलाई खुलातर्फको केन्द्रीय सदस्य पदको क्रम संख्या ३६ मा मतदान गरेर विजयी बनाउन अनुरोध गरेका हुन् । उनले महाधिवेशन प्रतिनिधिहरूलाई विवेक पुर्‍याएर असल नेतृत्वलाई विजयी बनाउन आग्रह गरेका छन् ।

भड्किलो प्रचारवाजी र मीठा कुरा गर्नेहरूलाई भन्दा पनि ‘हाम्रो कांग्रेस’ भनेर पार्टीमा काम गर्नेलाई विजयी बनाउनुपर्ने बताए ।

सह–महामन्त्री पदमा उम्मेदवारी दिने तयारी गरेका नेता गिरीले आफू निकटका नेता र साथीभाईहरूको परामर्शमा खुलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवार बनेका हुन् ।

नेता गिरीले आरक्षणतर्फका केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिन पनि सक्थे । तर, उनले आरक्षणतर्फ उम्मेदवारी नदिएर खुलामा प्रतिस्पर्धा गरेका छन् ।

‘आरक्षण पदमा हामी जस्तो नेताले ओगट्नु हुँदैन’, नेता गिरीले भने, ‘हामीभन्दा पनि संघर्ष गरेका गाउँका नेता कार्यकर्ता छन् । उनीहरूलाई ठाउँ दिनुपर्छ ।’

Published : Sunday, 2021 December 12, 7:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया