यस्तो छ कांग्रेस महामन्त्रीका उम्मेदवार डा.महतको कांग्रेसलाई बलियो बनाउने प्रतिबद्धतापत्र

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीका उम्मेदवार डा.प्रकाशशरण महतले आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् ।

पार्टी सभापति शेरबहादुर देउवाको टिमबाट महामन्त्री पदमा उम्मेदवारी दिएका डा.महतले आइतबार आफ्नो ६ पृष्ठ लामो प्रतिबद्धता पत्रमा संगठन निर्माणलाई केन्द्रमा राखेका छन् ।

उनको प्रतिबद्धता पत्रमा संगठन निर्माण, केन्द्रीय कार्यालयको स्तरोन्नति र महामन्त्रीको भूमिका, भातृ तथा शुभेच्छुक संस्थाको गतिशीलता,युवा तथा महिलाहरूको सहभागिता, समाजवादी नीतिको मूल लक्ष्यः समृद्धि र समृद्धिको पहुँचमा आम जनता, धर्म संस्कृति संरक्षणका चार मन्त्र, परराष्ट्र सम्बन्धको मूल आधार राष्ट्रहितमा आधारित विदेश नीति जस्ता विषयलाई समेटिएको छ ।

कांग्रेसको विधानले महामन्त्रीलाई अधिकारसम्पन्न शक्तिशाली पदाधिकारीको रुपमा स्थापित गरेको छ ।

डा.महतले आफ्नो प्रतिबद्धता पत्रमा महामन्त्रीको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने ढंगले कार्यक्रम प्रस्तुत गरेका छन् ।

उनले विधानले दिएको जिम्मेवारी पूरा गर्न पार्टीको महामन्त्री पार्टी कार्यकर्ताको आवाज सुन्ने, पार्टी कार्यकर्ता र आम नागरिकबीच देखिने र कार्यकर्ताले चाहेको बखत भेटिने हुनुपर्ने र आफ्नो व्यवहार यसै अनुकूल हुने उल्लेख गरेका छन् ।

विधानले पार्टीको केन्द्रीय कार्यालयको सञ्चालन र रेखदेखसहित केन्द्रीय महाधिवेशन, केन्द्रीय महासमिति, केन्द्रीय कार्यसमिति, केन्द्रीय कार्यसम्पादन समिति र केन्द्रीय समितिहरूको निर्णय कार्यान्वयन गर्ने तथा गराउने भूमिका निर्दिष्ट गरेको छ ।

पार्टीको विधान अनुरुप पार्टीको संगठन संरचना, क्रियाशील र प्रभावकारी बनाउने, पार्टीका निकायहरूमा पार्टी सम्बन्धी गतिविधिबारे आवश्यकतानुसार सूचना प्रवाहित गर्ने, पार्टीका निर्णय तथा कार्यक्रमहरू कार्यान्वयन तथा सुपरीवेक्षण गर्ने तथा गराउने अधिकार पनि पार्टी महामन्त्रीमा निहीत छ ।

पार्टीसम्बन्धी कार्यमा सभापतिको निर्देशानुसार प्रतिनिधि खटाउने वा समिति वा उपसमिति गठन गर्ने, केन्द्रीय कार्यसमिति, केन्द्रीय महासमिति र केन्द्रीय महाधिवेशनमा प्रतिवेदन र प्रस्ताव प्रस्तुत गर्ने, पार्टीका सबै प्रकारका आधिकारिक अभिलेखको संरक्षण गर्ने र गर्न लगाउने क्षेत्राधिकार पनि महामन्त्रीमा रहेको छ ।

केन्द्रीय महाधिवेशन, केन्द्रीय महासमिति, केन्द्रीय कार्यसमिति र केन्द्रीय कार्यसम्पादन समितिको निर्णय प्रमाणित गर्ने र पार्टी मातहतका निकायहरूलाई पार्टीको निर्णयको जानकारी गराउने तथा निर्देशन जारी गर्ने क्षेत्राधिकार पनि विधानले महामन्त्रीलाई प्रदान गरेको छ ।

विधानमा निर्दिष्ट गरिएका कार्यहरू प्रभावकारी रुपमा सम्पादन गर्न डा।महतले केन्द्रीय कार्यालयको स्तरोन्नति गरी केन्द्रीय सचिवालयलाई आधुनिक र कार्यमूलक बनाउने, पार्टीका सदस्यहरुको अभिलेख अद्यावधिक गर्ने, पार्टीका विभिन्न तहका कार्यसमिति र कार्यकर्ताहरूको सुझाव, सिफारिश र गुनासा सुनुवाई गरी तिनको उचित समाधान गर्ने उपयुक्त संयन्त्र तयार गर्ने, पार्टीको बाह्य सम्पर्क स्थापित तथा विस्तार गर्ने, पार्टीभित्रका विभिन्न विभागहरूबीच समन्वय गर्ने तथा भातृ संगठनहरुसंगको समन्वयलाई उच्च प्राथमिकता दिने र पार्टीका नियमित बैठक आयोजनाका लागि प्रस्तावहरू तयार पार्ने र सभापतिलाई बैठकका लागि अभिप्रेरित गर्नुका साथै पार्टी समक्ष आएका समस्या तथा मुद्दाहरूलाई तत्काल सम्बोधन गरी पार्टीको स्वच्छ छवि निर्माण गर्दै कार्यकर्तामा उत्साह जगाउन छिटो र छरितो ढंगले काम गर्ने पद्धति विकास गरिने विषयलाई उच्च प्राथमिकतामा उनले राखेका छन् ।

Published : Sunday, 2021 December 12, 1:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया