कांग्रेसको निर्वाचन कार्यतालिका
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन मंसिर २४ गते बिहान १० बजे गर्ने जनाएको छ ।
उम्मेदवार मनोनयन दर्ता मंसिर २५ गते बिहान १० देखि साँझ ५ बजेसम्म, उम्मेदवारी मनोनयन दर्ताउपर दाबी विरोध र जाँचबुझ मंसिर २५ गते साँझ ५ देखि ७ बजेसम्म र दाबी विरोधउपर निर्णय मंसिर २५ गते साँझ ७ देखि ९ बजेसम्म हुने समितिले जनाएको छ ।
उम्मेदवारको पहिलो नामावली प्रकाशन मंसिर २५ गते राति ९ देखि १२ बजेसम्म, मनोनयन पत्र फिर्ता लिइसक्नुपर्ने समय मंसिर २६ गते बिहान ११ बजेसम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन मंसिर २६ गते दिउँसो १२:१५ बजे र मतदान मंसिर २७ गते बिहान ८ बजेदेखि हुने समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिएका छन् ।
सभापति पदको मतगणना मतदान समाप्त भएपछि हुनेछ । सभापति पदको दोस्रो चरणको निर्वाचन गर्नुपर्ने भएमा राष्ट्रियसभा गृह, भृकुटीमण्डपमा लगत्तै गरिनेछ ।
निर्वाचनसम्बन्धी थप कार्यक्रम मतदान स्थलमा नै प्रकाशन गरिने समितिले जनाएको छ ।
सभापति बाहेक अन्य पदाधिकारी र सदस्य पदको मतदान समाप्त भएपछि उम्मेदवार वा उम्मेदवारका प्रतिनिधिको रोहवरमा मतपेटिका शिलबन्दी गरी पार्टी केन्द्रीय कार्यालयमा सुरक्षित राखिनेछ ।
सभापति पद बाहेक बाँकी पदाधिकारी र सदस्यको मतगणना केन्द्रीय कार्यालय सानेपामा हुनेछ ।
कांग्रेसले भृकुटीमण्डप र राष्ट्रियसभा गृहमा मतदान हुने जनाएको छ । मतदानमा २९ किसिमका मतपत्र हुनेछन् । उम्मेदवारको संख्या र पदअनुसारका आकार र रङका मतपत्रको व्यवस्था गरिनेछ ।
कांग्रेसमा २ सय जनालाई एकैसाथ मतदान गर्ने व्यवस्था गर्न लागिएको छ । राष्ट्रियसभागृह र नेपाल पुलिस क्लवमा कांग्रेसले मतदान गर्न २ सय बुथ राख्न लागेको छ ।
महाधिवेशनमा सहभागी हुने ४५ सयभन्दा बढि प्रतिनिधिले ब्यालेटमै मतदान गर्नुपर्ने भएको छ । एकजनालाई मतदान गर्न कम्तीमा पनि एक घण्टाभन्दा बढी लाग्नेछ ।
कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उप–सभापति, दुई महामन्त्री र आठ सह–महामन्त्रीको निर्वाचन हुने व्यवस्था छ ।
कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ ।
३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी/जनजाति १५, खस/आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसंख्यकबाट एक, अपाङ्गबाट एक सदस्य गरी कुल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने विधानको व्यवस्था छ ।
यसबाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनीत गर्ने विधानमा उल्लेख छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया