कांग्रेसको महाधिवेशनमा एआईजी पालको नेतृत्वमा सुरक्षा दिइने

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आउन तीन दिन बाँकी रहेका बेला सुरक्षाका विषयमा सुरक्षा निकायले गृहकार्य गरेका छन् ।

काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा हुने कांग्रेसको १४औँ महाधिवेशनलाई नेपाल प्रहरीका एआईजी हरिबहादुर पालको कमाण्डमा सुरक्षा दिने तयारी भएको छ । एआईजी पाल महानगरीय प्रहरी प्रमुख पनि हुन् । उनी कांग्रेस निकटका मानिन्छन् ।

यसअघि, चितवनको भरतपुर र सौराहमा भएको एमालेको १०औँ महाधिवेशनलाई एमाले समर्थक भनेर चिनिएका नेपाल प्रहरीका एआईजी सहकुलबहादुर थापाको कमाण्डमा सुरक्षाकर्मी खटाइएको थियो । थापालाई तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओलीले एआईजीमा बढुवा गरेका थिए ।

कांग्रेसको महाधिवेशनस्थलमा सिसिक्यामेराहरूको धेरै प्रयोग हुनेछ ।

नेपाल प्रहरीसहित सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागसहित आठ हजारभन्दा धेरै सुरक्षाकर्मी परिचालन हुनेछन् ।

मतदान र सभास्थललाई भित्री तह मानिएको छ । दोस्रो तहमा राष्ट्रिय अनुसन्धान विभाग र नेपाल प्रहरीकै सादा पोसाकका सुरक्षाकर्मी रहनेछन् ।

मतदान हुने भवन, मतदाता राखिएका होटेल, गेस्टहाउस र त्यसआसपासका क्षेत्रलाई दोस्रो तह मानिएको छ ।

सशस्त्र प्रहरी भने बाहिरी घेरामा हुनेछन् । विशेषगरी मतदान तथा सभाहलआसपासका सडक, पेटी, अग्ला भवन, ओभरहेड ब्रिजलगायत क्षेत्रलाई बाहिरी घेरा मानिएको छ ।

महाधिवेशनमा हुन सक्ने अवान्छित गतिवधि रोक्न उपत्यका भित्रिने सबै नाकाको सुरक्षा कडा बनउन मातहतका निकायलाई निर्देशन भइसकेको छ ।

Published : Tuesday, 2021 December 7, 11:21 am

फेसबुकबाट तपाईको प्रतिक्रिया