गण्डकी कांग्रेसको सभापतिमा जोशीको उम्मेदवारी, कार्यक्रममा ठूला नेताहरू देखिए
पोखरा । नेपाली कांग्रेस गण्डकीको सभापतिमा केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले उम्मेदवारी घोषणा गरेका छन् ।
पोखरामा मंगलबार कार्यक्रम गरेर जोशीले सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन् । जोशी सभापति शेरबहादुर देउवा निकटका मानिन्छन् ।
जोशीलाई जिताउन देउवा समूहका नेताहरू एकढिक्का देखिएका छन् ।
उम्मेदवारी घोषणा सभामा पूर्वसभामुख तारानाथ रानाभाट, कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य एवं गण्डकी सरकारका भौतिक पूर्वाधार विकासमन्त्री कुमार खड्का, कानूनमन्त्री विन्दुकुमार थापा, कास्कीका नवनिर्वाचित सभापति किशोरदत्त बराल, कास्की कांग्रेसका पुराना नेता कास्की–२ का प्रतिनिधि सभा उप–निर्वाचनका उम्मेदवार खेमराज पौडेल, नेपाल तरुण दलका केन्द्रीय कोषाध्यक्ष विद्वान गुरुङलगायत नेता उपस्थित रहेको थियो ।
सभापतिका उम्मेदवारी घोषणा सभामा देउवा पक्षीय नेता कार्यकर्तालाई साक्षी राखेका जोशीले आफ्नो समूह एक ढिक्का भएको सन्देश दिएका छन् ।
गण्डकी प्रदेशमा नेता रामचन्द्र पौडेल समूहले सभापतिमा उम्मेदवारी घोषणा गर्न सकेको छैन । पौडेल समूहमा सभापतिका आकांक्षी धेरै छन् ।
पौडेल समूहबाट नेताहरू देवराज चालिसे, शुक्रराज शर्मा, रघुनाथ पौडेलले सभापतिमा उम्मेदवारी घोषणा गरिसकेका छन् ।
पौडेल समूहका नेता यज्ञबहादुर थापाले पनि सभापतिमा आकांक्षा राखेका छन् । थापालाई महामन्त्री शशांक कोइरालाले सभापतिमा अगाडि बढाउन खोजेका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया