देउवा समूहले ह्वात्तै कमाल गरेपछि पौडेल समूहको सातोपुत्लो उड्यो

काठमाडौं । नेपाली कांग्रेसको जिल्ला सभापतिमा शेरबहादुर देउवा समूहले अग्रतामा कब्जा जमाएको छ ।

पछिल्लो मत परिणामअनुसार बर्दियाको सभापतिमा संस्थापन पक्षका अरुणप्रकाश सिंह राठौर विजयी भएका छन् । संस्थापनबाटै बाग्लुङमा जीतबहादुर शेरचन, भक्तपुरमा दुर्लभ थापा र उदयपुरमा हिमाल शर्माले जित हासिल गरेका छन ।

कपिलवस्तुमा भने अर्को समूहका अब्दुल कलाम खाँ निर्वाचत भएका छन् । हालसम्म ५८ जिल्लाको मत परिणाम आएको छ । शेरबहादुर देउवा समूहले ३२ जिल्ला सभापतिमा वर्चश्व स्थापित गरेको छ । २५ जिल्ला सभापतिमा रामचन्द्र पौडेल समूहले जितेको छ ।

मतपरिणाम अनुसार सल्यानमा केशरबहादुर विष्ट, डोल्पाबाट दीपेन्द्र शाही, डडेल्धुरामा भीमबहादुर साउद, जुम्लामा कर्णबहादुर शाही, जाजरकोटमा बेदराज सिंह, पाँचथरमा रुपनारायण जवेगु, लमजुङमा डा.टकबहादुर गुरुङ, डोटीमा नरेन्द्रबहादुर सिंह संस्थापन समूहबाट सभापति निर्वाचित भएका छन् ।

ओखलढुंगामा तेजेन्द्र खनाल संस्थापन समूहबाटै सभापति निर्वाचित बनेका छन् । पर्वतमा युवराज जोशी विजयी भएका छन् छन् । रुकुम पश्चिममा प्रेमप्रकाश ओली सर्वसम्मत सभापति बनेका छन् । उनी पनि देउवा निकट हुन् ।

रुपन्देहीमा संस्थापन पक्षका रामकृष्ण खाण सर्वसम्मत जिल्ला सभापति निर्वाचित बनेका छन् । कञ्चनपुरमा देउवा समूहका पदम बोगटी विजयी भएका छन् । ललितपुरमा देउवा समूहकै जितेन्द्रकुमार श्रेष्ठ विजयी भएका छन् । इलाममा पनि संस्थापन समूहबाटै डम्मर खड्का जिल्ला सभापति निर्वाचित बनेका छन् ।

ताप्लेजुङमा गजेन्द्रप्रसाद तुम्याहाङ, हुम्लामा मोहनविक्रम सिंह, रामेछापमा पूणर्बहादुर तामाङ ‘कान्छाराम’, मुगुमा ऐनबहादुर शाही, बझाङमा खडक बोहरा, म्याग्दीमा खमबहादुर गर्बुजा र मनाङमा शंकर गुरुङ पनि संस्थापन समूहबाटै जिल्ला सभापति चयन भएका छन् ।

कास्कीमा किशोरदत्त बराल, सुर्खेतमा खड्क पोखरेल, तनहुँमा जितप्रकाश आले र काभ्रेमा तीर्थ लामा पनि संस्थापन समूहबाटै सभापति निर्वाचित भए ।

जाजरकोट, सुर्खेत, रुपन्देही र मनाङ सभापतिमा संस्थापन पक्षकै सर्वसम्मत सभापति भएका थिए । नुवाकोटमा रमेश महतले पनि संस्थापन समूहको सहयोगमा सभापति जितेका छन् । स्याङ्जा सभापतिमा निर्वाचित भएका राजु थापासमेत संस्थापन निकट हुन् । झापामा सिटौला पक्षका देउकुमार थेवे निर्बाचित भएका छन् ।

पौडेल समूहबाट काठमाडौंमा प्रकाशमान सिंह र गगन थापा गठवन्धनका सबुजकृष्ण बानियाँले जित निकालेका छन् । पौडेल समूहबाटै दार्चुलामा ललितसिंह बोहोरा, दाङमा शंकर डाँगी, रोल्पामा किशोर आचार्यले जिल्ला सभापतिमा जितेका छन् । खोटाङमा विष्णुकुमार राई जिल्ला सभापति निर्वाचित भएका छन् ।

नवलपरासीमा पौडेल समूहका अर्जुनकुमार पोखरेल जिल्ला सभापति चुनिएका छन् । पाल्पाबाट हिमालदत्त श्रेष्ठले पनि पौडेल समूहबाटै निर्वाचित भएका छन् ।

दैलेखमा मणिराम रेग्मी, संखुवासभामा दीपक खड्का, कालीकोटमा अम्मबहादुर शाही, दोलखामा बर्मा लामा, मुस्ताङमा रोमी गौचन, रुकुम पूर्वमा केशरमान रोका, गोरखामा नन्दप्रसाद न्यौपाने, बाजुरामा रामसिंह रावल पनि पौडेल समूहबाटै जिल्ला सभापति बनेका छन् ।

यसैगरी अर्घाखाँचीमा केशव श्रेष्ठ, प्यूठानमा विष्णुकुमार गिरी, बैतडीमा चतुरबहादुर चन्द, भोजपुरमा विनोद बान्तवा र तेह्रथुममा अर्जुनबहादुर तुम्बाहाङ्फे पनि पौडेल समूहबाटै निर्वाचित भएका छन् ।

सुनसरीमा पौडेल समूहका केदार अधिकारी, धादिङमा रामनाथ अधिकारी, गुल्मीमा खिलध्वज पन्थी विजयी भएका छन् ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार ७७ मध्ये ५८ जिल्लामा नयाँ नेतृत्व चयन भइसकेको छ ।

Published : Tuesday, 2021 November 30, 2:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया