दाङ कांग्रेसमा देउवा–खुमबहादुर समूहले राजनीतिक संस्कार देखाउँदा शंकर बने सर्वसम्मत सभापति

घोराही । नेपाली कांग्रेस दाङको जिल्ला सभापतिमा शंकर डाँगी सर्वसम्मत भएका छन् ।

आइतबार बिहान घोराहीमा भएको छलफलपछि डाँगीलाई सभापतिमा सर्वसम्मत बनाउने सहमति बनेको हो । दाङ कांग्रेसका सभापति कीर्तिबहादुर खड्काले सचिव शंकर डाँगीलाई सर्वसम्मत बनाउने निर्णय गरिएको जानकारी दिए ।

एकताको सन्देश दिनका लागि दाङ कांग्रेसले शंकर डाँगीलाई सर्वसम्मत बनाएको सभापति खड्काले बताए ।

सभापतिमा सर्वसम्मत भएका डाँगी नेता रामचन्द्र पौडेल समूह निकटका हुन् ।

सभापति शेरबहादुर देउवा र स्व.खुमबहादुर खड्का समूहले सभापतिमा भुपबहादुर डाँगीलाई उम्मेदवार बनाएको थियो ।

देउवा समूहभित्र सहमति हुन नसकेपछि सभापतिमा जानकीलाल बस्नेत र कमलकिशोर घिमिरे उम्मेदवारी दिएका थिए । बहुमत हुँदाहुँदै बस्नेत र घिमिरेका कारण देउवा समूहले सभापति गुमाउनु परेको छ ।

पहिलो चरणको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत पाउन सकेका थिएनन् । दोस्रो चरणको निर्वाचन गर्ने बेला सभातिका उम्मेदवार भुपबहादुर डाँगीले सभापतिमा शंकर डाँगीलाई नै समर्थन गरेका हुन् ।

शनिबार भएको निर्वाचनमा शंकर डाँगीले ७७६, र भूप बहादुर डाँगीले ५४५ मत पाएर पहिलो र दोस्रो भएका थिए ।

सभापतिका उम्मेदवार जानकीलाल बस्नेतले ४७१ र कमल किशोर घिमिरेले ३१५ मत पाएर तेस्रो र चौथो बनेका थिए ।

सभापतिमा सर्वसम्मत भएका शंकर डाँगी नेविसंघको राजनीतिबाट शुरु गरेका हुन् ।

Published : Sunday, 2021 November 28, 12:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया