सभापति उठ्ने घोषणा गरेका गोपालमानको समूहको स्याङजामै बेहाल, कार्यबाहक सभापतिनै हारे

पुतलीबजार । नेपाली कांग्रेस स्याङ्जाका कार्यवाहक सभापति बुद्धिबहादुर राना ‘कुमार’ महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् ।

सोमबार भएको अधिवेशनमा राना स्याङ्जाको क्षेत्र नं. १ को अधिवेशनबाट पराजित भएका हुन् । राना कांग्रेसका केन्द्रीय सदस्य गोपालमान श्रेष्ठको समूहबाट उम्मेदवार बनेका थिए ।

यसैबीच, क्षेत्र नं. १ को सभापतिमा तुलसीराम रेग्मी विजयी भएका छन् । रेग्मीसँग गोपालमान श्रेष्ठको समूहका सभापतिका उम्मेदवार ओमबहादुर भट्ट क्षेत्री पराजित गरेका छन् ।

स्याङ्जाको क्षेत्र नं. २ को सभापतिमा दिलिपप्रताप खाण निर्वाचित भएका छन् ।

स्याङजा जिल्लामा नेता गोपालमान श्रेष्ठको प्रभाव घटेको छ । गोपालमान निकटका नेताहरू वडा तहकै अधिवेशनमा समेत पराजित भएका छन् ।

क्षेत्रीय सभापतिमा जितेका दुबै जना कांग्रेसका नेता राजु थापा समूहका हुन् । युवा नेता थापाको स्याङजामा प्रभाव बढ्दै गएको छ ।

जिल्ला सभापति कमल पंगेनीको निधन भएपछि रानाले कार्यवाहक सभापतिको जिम्मेवारी सम्हाल्दै आएका थिए । महाविधेशन प्रतिनिधिमा पराजित भएपछि गोपालमान श्रेष्ठ चकित परेका छन् ।

कांग्रेसको १४औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवार बन्ने घोषणा गरेका गोपालमान श्रेष्ठले आफ्नै जिल्लामा टिमका साथीहरूलाई जिताउन सकेका छैनन् । क्षेत्रीय सभापति र महाधिवेशन प्रतिनिधिमा समेत श्रेष्ठका उम्मेदवारहरू पराजित भएका छन् ।

Published : Tuesday, 2021 November 23, 12:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया