कांग्रेस नेता रामहरि खतिवडाको जिल्लामा कुन टिमका सभापतिहरूले जिते ? क्लिन स्विप

ओखलढुंगा । ओखलढुंगा जिल्लामा नेपाली कांग्रेसको अधिवेशनमा प्रदेशतर्फका दुबै क्षेत्रमा सभापति शेरबहादुर देउवा समूहले जित हासिल गरेको छ ।

आइतबार भएको निर्वाचन प्रक्रियाको अन्तिम नतिजाअनुसार प्रदेश सभा क्षेत्र नं. ‘क’को सभापतिमा सन्तोषबाबु थापा निर्वाचत भएका छन् ।

प्रदेश सभा क्षेत्र नं. ‘ख’को सभापतिमा आश्राचन राई निर्वाचित भएको निर्वाचत समितिले जनाएको छ ।

नेता रामचन्द्र पौडेल–शशांक कोइराला समूहका सभापतिका उम्मेदवार पराजित भएका छन् । देउवा समूहले ओखलढुंगामा ‘क्लिन स्विप’ गरिदिएको छ । अब जिल्ला अधिवेशनको जिल्ला सभापति तेजेन्द्र खनाल समूहलाई जिताउन तयारी रहेको छ ।

ओखलढुंगामा आफ्नो टिमलाई जिताउन कांग्रेसका युवा नेता रामहरि खतिवडासहितका नेताहरूको ठूलो योगदान छ । खतिवडाले प्रदेश ‘क’मा थापा र ‘ख’मा राई नेतृत्वको टिमलाई मतदान गरेर जिताएकोमा क्षेत्रीय प्रतिनिधि र सहयोगी नेता कार्यकर्ता सबैलाई धन्यावाद दिएका छन् ।

खतिवडाले पार्टीभित्रको आन्तरिक लोकतान्त्रिक प्रक्रियालाई जित र हालको रुपमा नलिएर एक भएर कांग्रेसलाई बलियो बनाउन अनुरोध गरेका छन् । उनले पार्टीभित्रको जितहार सबै नेता कार्यकर्ताको रहेको भन्दै जितहार कम्युनिस्टसँगको प्रतिस्पर्धामा हुने बताएका छन् ।

पार्टी सभापति प्रदीप सुनुवारसहितका नेताहरूले पनि टिमलाई जिताउन भूमिका खेलेको नेताहरूले जनाएका छन् । सुनुवारले पनि निर्वाचित सभापति र पदाधिकारी एवम् प्रतिनिधिहरूलाई बधाइ दिँदै मतदाताहरूलाई धन्यावाद दिएका छन् ।

Published : Monday, 2021 November 22, 12:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया