आईजीपी क्षेत्री टर्की प्रस्थान

काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री इन्टरपोलको कार्यक्रममा भाग लिन टर्की प्रस्थान गरेका छन् ।

इन्टरपोल महासचिवालयको आयोजनामा टर्कीको ईस्तानबुलमा मंसिर ७ देखि ९ गतेसम्म इन्टरपोलको ८९औं महासभामा हुनेछ । सोही महासभामा सहभागी हुन आईजीपी क्षेत्री आइतबार त्यसतर्फ प्रस्थान गरेको विज्ञप्तिमा उल्लेख छ ।

आईजीपी क्षेत्रीसँग महासभामा सहभागी हुन प्रहरी अतिरिक्त महानिरीक्षक प्रद्युम्नकुमार कार्की र प्रहरी उपरीक्षक सविन प्रधान पनि टर्की प्रस्थान गरेका छन् ।

प्रहरी अतिरिक्त महानिरीक्षक निरज बहादुर शाही, प्रहरी नायव महानिरीक्षक लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आईजीपी क्षेत्रीलाई विदाइ गरेका छन् ।

महासभामा इन्टरपोल तथ्याङ्क प्रशोधनको आवश्यकता, प्रहरी कार्य तथा प्रविधि, बजेट, संगठित अपराध, साइबर क्राइम, आतंकवाद, मानव बेचबिखन जस्ता अपराध लगायतका विविध विषयमा संकल्प प्रस्ताव प्रस्तुत हुने तथा प्रस्तुत प्रस्तावमा छलफल भई महासभाबाट पारित हुने कार्यक्रम हुनेछन ।

नेपालको प्रतिनिधि मण्डलले टर्की, यूएई, दक्षिण कोरिया र बंगलादेशसँग समेत विविध विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ ।

प्रहरी महानिरीक्षक थापा क्षेत्रीको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक निरजबहादुर शाहीले प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्ने विज्ञप्तिमा उल्लेख छ ।

Published : Sunday, 2021 November 21, 12:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया