कम्युनिस्टप्रति अनुदार युवा नेता आचार्यद्वारा दाङ कांग्रेसमा उम्मेदवारी घोषणा

घोराही । नेपाली कांग्रेसका युवा नेता एवम् औषधि व्यवसायी पवन आचार्यले महाधिवेशन प्रतिनिधिमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

दाङ कांग्रेसको अधिवेशनमा उनले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिने जनाएका हुन् । उनले भने, ‘दाङ कांग्रेसका मतदाताहरूसँग मेरो अपील छ । मलाई महाधिवेशन प्रतिनिधिमा मतदान गरेर जिताउनु हुनेछ । ठूलो अपेक्षा र विश्वास लिएको छु ।’

कम्युनिस्टसँग निकै अनुदार मानिने आचार्यले एमाले र माओवादीका कारण मुलुकले ठूलो जोखिम मोल्नु परेको बताउने गरेका छन् । ‘कांग्रेसले जनता र देशका लागि धेरै काम गरेको छ । हामीले गरेका काम कम्युनिस्टले जस्तो प्रचार गर्दैनौँ’, उनले भने, ‘कम्युनिस्टले दुईतिहाइको बहुमत पाउँदा पनि तीन वर्षमा असफल भएर कांग्रेसको खुट्टामा सत्ता बुझाउनु परेको छ ।’

महामन्त्री शशांक कोइराला निकट मानिने युवा नेता आचार्यले महाधिवेशनमा गुट र उप–गुट नभनेर असल नेतालाई मतदाता गर्नुपर्ने बताएका छन् ।

आचार्यले नेविसंघबाट आफ्नो राजनीतिक यात्रा शुरु गरेका थिए । २०४९ सालमा तत्कालीन हलवार गाउँ ईकाइ कार्यसमितिको सभापति बनेर आचार्यले राजनीतिमा हातहालेका थिए ।

आचार्यको परिवार कांग्रेसको राजनीतिमा लामो समयदेखि सक्रिय छ । उनी २०५० देखि २०५३ सम्म दुई पटक दाङ नेबिसंघको तात्कालीन क्षेत्र नं. ३ को सचिव भएर काम गरेका थिए ।

२०५३ मा महेन्द्र बहुमुखी क्याम्पस, भरतपुरमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा आचार्य कोषाध्यक्षमा निर्वाचित भएका थिए । त्यस बेला आचार्य जम्मा १६ वर्षको थिए ।

२०५५ को भरतपुर क्याम्पसको स्ववियु निर्वाचनमा आचार्य नेविसंघको तर्फबाट सचिवको उम्मेदवार बनेका थिए । त्यस बेला उनी झिनोमतान्तरले पराजित भएका थिए ।

कांग्रेसको राजनीतिमा सक्रिय रहेका युवा नेता आचार्यले औषधि व्यवसायमा पनि हातहालेका छन् । विगत १० वर्षदेखि उनले विदेशबाट औषधि आयात गरेर खुद्रा औषधि व्यवसायीहरूलाई उपलब्ध गराउँदै आएका छन् ।

नेपालमा औषधि गुणस्तरीय र सस्तोमा बिरामीले पाउनुपर्छ भनेर आचार्यले औषधि आयातकर्ता संघमार्फत आवाज उठाउँदै आएका छन् ।

उनले नेपालमा पहिलो पटक ७५ करोडको लगानीमा प्रबिधिजन्य स्वास्थ्य सामग्रीको उद्योग स्थापना गरेका छन् । उनको उद्योग हेटौँडामा छ ।

उनी औषधि आयातकर्ता संघको केन्द्रीय महासचिवको रुपमा अन्तर्राष्ट्रिय फोरमहरूमा देशको प्रतिनिधित्व गरेर गइसकेका छन् ।

कोरोना महामारीका बेला आचार्यले औषधिहरूको अभाव हुन नदिन आफू र आफ्नो संस्थाको तर्फबाट ठूलो भूमिका खेलेका थिए । कोरोनाका बिरामीको उपचारमा प्रयोग हुने गरेको रेमडिसिभिर औषधि आयातमा पनि उनको भूमिका छ ।

गृहजिल्ला दाङमा रेमडिसिभिर औषधि ल्याएका थिए । काठमाडौंमै रेमडिसिभिर औषधि अभाव भएका बेला उनले दाङमा यो औषधि पठाएका थिए ।

Published : Tuesday, 2021 November 16, 10:26 am

फेसबुकबाट तपाईको प्रतिक्रिया