रामचन्द्र पौडेलका कुराले गुटभित्रकै नेताहरू चकित, सिंहद्वारा बहिस्कार

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सभापतिका दाबेदार नेताहरू मिलेर आउन सुझाव दिएका छन् ।

काठमाडौंमा शुक्रबार बसेको पौडेल–कोइराला समूहको गुटको बैठकमा पौडेलले सभापतिका दाबेदार नेताहरूबीच सहमति हुन नसके आफू सभापतिमा अगाडि बढ्ने चेतावनी दिएका छन् ।

पौडेलले तीन तहको चुनावसम्म सभापति बन्न आफू इच्छुक रहेको र त्यसपछि सभापति पद छाड्ने बताएका छन् ।

सभापतिमा पौडेलसहित शशांक कोइराला, प्रकाशमान सिंह, शेखर कोइराला इच्छुक छन् । पौडेल–कोइराला समूहको गुटको भेलालाई नेता सिंहले बहिस्कार गरिदिएका छन् । नेता सिंहविनानै गुटको भेला गरेर पौडेल–कोइराला समूहले आफ्नो शक्ति देखाएको छ ।

चार आकांक्षीबीच सहमति जुट्ने सम्भावना कम हुँदै गएपछि नेता पौडेलले आफू निकटका केन्द्रीय सदस्यहरूलाई बोलाएर सहयोग गर्न आग्रह गरेका हुन् ।

नेता पौडेलको भनाइ उदृत गर्दै एक नेताले भने, ‘कि तपाईहरू नेतृत्वका विषयमा सहमति गर्नुस् । नत्र म सबैलाई संयोजन गर्न सक्छु । मलाई नेतृत्वमा सबैले अगाडि सार्नुस् ।’

पौडेलले भने, ‘म पूरा कार्यकाल सभापति बन्दिन । तीन तहको निर्वाचनमा पार्टीलाई जिताएर विदा हुन्छु । त्यसपछि तपाईहरूलाई नै छोड्छु ।’

गुटको भेलामा महामन्त्री शशांक कोइरालाले केही बोलेनन् । शेखर कोइरालाले नेता पौडेलको प्रस्ताव र कुराहरूलाई मतलब गरेनन् । पौडेलको भनाइको कुनै पनि जवाफदिएनन् ।

पौडेलले सभापतिका विषयमा दुई विकल्प अघि सारेका थिए । पहिलो विकल्पमा पौडेलले गुटभित्र सभापतिको दावी प्रस्तुत गर्ने नेताहरू आपसमा मिले आफू सहयोग गर्न तयार रहेको बताएका थिए ।

दाबेदारहरु आपसमा मिल्न नसके आफू अघि बढ्ने प्रस्ताव अघि सारेको केन्द्रीय सदस्य गगन थापाले बताए ।

पौडेलले महाधिवेशनमा गुटभित्र मिलेर जानुको विकल्प नरहेको भन्दै सभापतिको दाबेदारहरू प्रकाशमान सिंह, शशांक कोइराला, शेखर कोइराला र कृष्ण सिटौला आपसमा मिल्नुपर्ने धारणा राखेका थिए ।

यी चार नेता आपसमा मिलेर साझा उम्मेदवार तयार गर्न सक्ने अवस्था बनेमा आफू नेतृत्वको दौडबाट पछि हटेर सहयोग गर्न तयार रहेको पौडेलको भनाइ थियो ।

चार नेता आपसमा नमिलेको अवस्थामा आफूले परिस्थिति सहज बनाएर आफै अघि बढ्ने उनको धारणा थियो ।

नेता प्रकाशमान सिंहको सन्दर्भमा पनि छलफल भएको थापाले बताए ।

पौडेल–कोइरालाको गुटको भेलामा सबैलाई टीममा राख्न सकिएन भने त्यस्तो अवस्थामा शेरबहादुर देउवालाई सभापतिमा रोक्न कसैले नसक्ने धारणा नेताहरूले राखेका थिए ।

Published : Friday, 2021 November 12, 8:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया