कांग्रेसले नेतृत्व गरेपछि ओलीले बिगारेका कुरामा सुधार हुँदैछ : डा.महत, लामाको चियापानमा नेता कार्यकर्ताको ओइरो

नुवाकोट । नेपाली कांग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महतले एमाले बाहेकका दलहरूले आग्रह गरेपछि कांग्रेसले सरकारको नेतृत्व गरेको बताएका छन् ।

कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभाका सांसद बहादुरसिंह लामा तामाङको सचिवालयद्वारा नुवाकोटमा सोमबार आयोजित शुभकामना आदानप्रदान तथा दिवाभोज कार्यक्रमलाई सम्वोधन गर्दै डा.महतले कांग्रेस अनुभवी पार्टी भएका कारण सरकारको नेतृत्व गर्न सबैले आग्रह गरेको बताए ।

डा.महतले कम्युनिष्ट पार्टीहरू मिलेर निर्वाचनमा कांग्रेसलाई पराजित गरे पनि केपी ओली नेतृत्वको सरकारको गतिविधिहरू जनताको भावना विपरित भएकाले कम्युनिष्टहरू नै तितरवितर भएको बताए । उनले कांग्रेसलाई सरकारको नेतृत्व लिने अवसर प्राप्त भएको बताएका छन् ।

ओली नेतृत्वको सरकारले वैदेशिक नीति अलमलमा पारेको, भ्रष्टचार गरेको लगायतको आरोप डा.महतको रहेको छ ।

शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेपछि कोरोना भाइरस विस्तारै नियन्त्रणमा आइरहेको बताएका डा.महतले भ्रष्टाचार रोकिएको, प्रहरी प्रशासनलाई योग्यताको आधारमा सञ्चालन गर्न थालिएको, परराष्ट्र नीतिमा सुधार ल्याइएको बताए ।

कांग्रेसको १४औँ महाधिवेशनलाई संकेत गर्दै सह–महामन्त्री डा.महतले संस्कार, नैतिकता र पार्टीलाई केन्द्र विन्दूमा राख्ने नेतृत्वलाई जिल्ला हाक्ने अवसर दिनुपर्ने बताए ।

पार्टीभित्र विवाद गरेर गुट/उप–गुटलाई विकास गराउनभन्दा पनि नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताको एउटै भाषा भएमात्रै जनतालाई आफ्नो पक्षमा पार्न सकिने डा.महतले बताए ।

उनले पछिल्लो समयमा निर्धारण गरिएकै मितिमा अधिवेशनका गतिविधिहरू सञ्चालन हुने बताएका छन् ।

कम्युनिस्टले तिललाई पहाड बनाएर बढी प्रचार गर्ने गरेको भन्दै डा.महतले कम्युनिस्टले संगठित हुने विषयलाई प्राथमिकता दिने गरेको बताए ।

उनले कांग्रेसका नेता कार्यकर्ताहरूले कम्युनिस्टको प्रचारशैलीलाई अनुशरण गर्न आवस्यक रहेको बताए ।


कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री डा.रामशरण महतले जिल्लाको आर्थिक उन्नति र विकासको लागि तीन वटा सरकारबीच सहकार्य र समन्वय हुनु आवस्यक रहेको बताएका छन् ।

नुवाकोट कांग्रेसका नेता कार्यकर्तावीच भएको तिक्ततालाई छिचोल्दै एकापसमा सकरात्मक सन्देश प्रवाह गर्न चाडपर्वलाई लक्षित गरि शुभकामना आदान प्रदान तथा दिवाभोज कार्यक्रम आयोजना गर्ने नेता लामालाई धन्यावाद दिए ।

कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद लामाले कम्युनिस्टहरू असफल भएपछि कांग्रेसले सरकारको नेतृत्व सम्हालेको भन्दै कांग्रेसका नेता कार्यकर्ताले सहयोग गर्नुपर्ने बताए । उनले कांग्रेस नेतृत्वको सरकार सफल भयो भने मात्रै मुलुकको समृद्धि हुने बताए ।

नेता सिंहले कम्युनिस्टलाई जस्तो असफल हुने छुट जनताले कांग्रेसलाई नदिएको बताए । उनले कांग्रेसप्रति जनताको धेरै अपेक्षा र विश्वास रहेको बताएका छन् ।

कार्यक्रममा नेपाली कांग्रेस नुवाकोटका निवर्तमान सभापति ध्रुव अधिकारी, माओवादी केन्द्र नुवाकोटका अध्यक्ष एवम् प्रदेश सांसद हीरानाथ खतिवडा, प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलाल, नेपाली कांगे्रस नुवाकोटका जिल्ला सचिव शिव दाहाल, महाधिवेशन प्रतिनिधिहरू चोकराज शाक्य, श्रीराम श्रेष्ठ, प्रवक्ता राजु थापा, नेपाली कांगे्रस नुवाकोट क्षेत्र नम्बर १ का सभापति ध्रुव श्रेष्ठ, २ का सभापति जगत तामाङ लगायतले मन्तव्य राखेका थिए ।

कांग्रेसका नेता लामाको सचिवालयद्वारा राखिएको शुभकामना आदान प्रदान तथा चियापन कार्यक्रममा नुवाकोट कांग्रेसका नेता कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो ।

Published : Tuesday, 2021 November 2, 8:51 am

फेसबुकबाट तपाईको प्रतिक्रिया