कांग्रेसको सरकार आउनेवित्तिकै भारतद्वारा जयनगर–कुर्था रेल खण्ड हस्तान्तरण, चल्ने भयो रेल

काठमाडौं । नेपाललाई भारतले जयनगर–कुर्था सीमापार रेलमार्ग हस्तान्तरण गरेको छ ।

भारतको सहयोगमा निर्माण भएको जयनगर–कुर्था सीमापार रेलमार्गलाई शुक्रबार आयोजित विशेष कार्यक्रममा हस्तान्तरण गरिएको नेपालका लागि भारतीय राजदूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

भारत सरकारका तर्फबाट परियोजना कार्यान्वयन निकाय इरकाँन इन्टरनेशनल लिमिटेडले सो रेल खण्ड नेपाल सरकारको तर्फबाट उपस्थित नेपाल रेलवे कम्पनी लिमिटेडलाई हस्तान्तरण गरेको थियो ।

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादव र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राको पनि सहभागि रहेको थियो ।

भारत सरकारको आर्थिक सहयोगमा भारतको जयनगरदेखि नेपालको कुर्थासम्मको ३४.९ किलोमिटर न्यारो गज खण्डलाई ब्रोड गजमा रुपान्तरण गर्ने कार्य सम्पन्न भएको छ ।

भारत सरकारको आर्थिक सहयोग अन्तर्गत नेरु.८.७७ अर्ब रुपैंयामा निर्माण भएको ३४.९ किलोमिटर जयनगर–कुर्था खण्ड ६८.७२ किलोमिटर जयनगर–बिजलपुरा–बर्दिबास रेलमार्गकै एक हिस्सा हो। यो खण्ड पहिले जयनगर र बिजलपुराबीच न्यारो गज रेलमार्गको रुपमा रहेको थियो ।

जयनगर–कुर्था खण्डमा कूल ८ वटा स्टेशन र साना स्टेशन रहेका छन् जसमा जनकपुरको ऐतिहासिक महत्वको शहर पनि सामेल छ ।

एकपटक सञ्चालनमा आए लगत्तै यो भारत र नेपालबीचको पहिलो ब्रोड गज सीमापार रेलमार्ग हुनेछ ।

यसले दुई देशबीचको व्यापार र वाणिज्य गतिविधिहरूलाई थप बढावा दिनुका साथै जनताबीचको सम्बन्धलाई अझ सुदृढ गर्नेछ ।

सीमापार रेल सञ्जाल भारत–नेपाल विकास सहकार्यको एक महत्वपूर्ण पक्ष हो जसमा जयनगर–बिजलपुरा–बर्दिबास रेलमार्ग र १८.६ किलोमिटर जोगबनी–विराटनगर रेलमार्ग समाविष्ट छन् । यी दुवै रेलमार्ग भारत सरकारको आर्थिक सहायता अन्तर्गत निर्माण भएका हुन् ।

नेपाली कांग्रेसको नेतृत्वको सरकार बन्नेवित्तिकै भारत सरकारले यो रेलमार्ग हस्तान्तरण गरेको छ । भारतबाट रेल ल्याउन तत्कालीन नेपाली कांग्रेसकै सरकारले शुरुवात गरेको थियो ।

Published : Saturday, 2021 October 23, 12:09 am

फेसबुकबाट तपाईको प्रतिक्रिया