डडेल्धुरामा शेखरले यसरी ल्याएका थिए भाडामा समर्थक, नारा लागेपछि अर्जुनलाई तनाब

डडेल्धुरा । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत वडादेखि जिल्लासम्म अधिवेशनहरू हर्सोल्लासका साथ भइरहेका बेला शेखर कोइराला र अर्जुन नरसिंह केसीले भाडाका मानिसहरू जम्मा पारेर रमिता देखाएका छन् ।

केन्द्रीय सदस्यद्वय कोइराला र केसले डडेल्धुरा जिल्लामा आइतबार सुदूरपश्चिम प्रदेशका जिल्लाहरूबाट डडेल्धुरामा बसबाट समर्थकहरू उतारेर उत्पात गरेका हुन् । कार्यक्रमस्थलमा बसहरू लस्करै राखिएका थिए ।

डडेल्धुरासहितका जिल्लाको क्रियाशील सदस्यताको विवादको समाधान कोइराला र केसीले पनि सर्वसम्मत पारित गरेर हस्ताक्षर गरेका छन् ।

उनीहरूलाई सबै कुराको राम्रोसँग जानकारी छ । केन्द्रीय कार्यसमितिको बैठकमा उनीहरू डडेल्धुराको विवादका विषयमा एक शब्द बोलेका थिएनन् ।

कोइराला र केसीले बाहिरी जिल्लाबाट भाडाका मानिसहरू ल्याएर डडेल्धुरामा उत्पात मच्चाएपछि कांग्रेसका स्थानीय नेता कार्यकर्ताहरूले लखेट्न खोजेका थिए । केहीबेर कोइराला र केसीका समर्थक तथा डडेल्धुराका स्थानीय कांग्रेस कार्यकर्ताबीच घम्साघम्सी भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

डडेल्धुरामा कोइरालाको पक्षमा नारावाजी भएपछि नेता केसीलाई तनाब भएको थियो । आफूभन्दा जुनियर नेता कोइरालाको पक्षमा जिन्दावाद र आइ लभ यु शेखर कोइराला भनेपछि केसी कालोनिलो बनेको चर्चा भएको छ ।

डडेल्धुरा जिल्लामा विवाद थियो भने पनि सहमति, सम्वाद र सहकार्यमार्फत मिलाउन सकिन्थ्यो । कोइरालाले १४औँ महाधिवेशनमा फण्डा गर्न आइतबार डडेल्धुरा पुगेर महाधिवेशन विरोधी हर्कत गरेको भनेर आलोचना भएको छ ।

१४औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका कोइरालाले आफूलाई फरक देखाउन बेलाबेला सामाजिक सञ्जालमा छन्नभाँती लेख्नेदेखि आफ्ना अभिव्यक्तिहरू सभापति शेरबहादुर देउवाविरुद्ध दिने गरेका छन् । शेखरले कोइराला परिवारभित्र आफू नै कांग्रेसको विरासत धान्ने नेता हुँ भन्ने जसरी प्रस्तुत गर्दै आएका छन् ।

Published : Sunday, 2021 October 3, 11:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया