‘हीरो’ बन्न खोज्दा शेखर कोइराला चिप्लिए
काठमाडौं । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ‘किचन क्याविनेट’भित्र बसेर हालिमुहाली गरेका नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कांग्रेसलाई बागमती प्रदेश सरकारको नेतृत्व लिनबाट रोक्ने प्रयास गरेका छन् ।
कांग्रेसलाई सत्ता वा राम्रा अवसर आउँदा कोइरालाले विरोध गर्ने गरेका छन् । उनका यस्ता हर्कत र गतिविधिले कांग्रेसलाई कमजोर बनाएको आरोप छ । माओवादीसँगको शान्तिवार्ताका क्रममा गिरिजाप्रसाद कोइरालाको कोटरीभित्र बसेर उनले कोइराला परिवारको आलोचना गर्ने नेताहरूलाई ठेगान लगाउन ठूलो भूमिका खेलेको आरोप छ ।
कोइराला परिवारको हालिमुहाली हुँदा सबैभन्दा धेरै अवसर पाएका कोइरालाले आफ्नै पार्टीका नेताहरू बागमती प्रदेशको सरकारमा जान खोज्दा विरोध गरेर ‘हीरो’ बन्न खोजेका हुन् । गिरिजाप्रसाद कोइरालाको पालामा शेखर कोइरालाले बाहिर देखिने भन्दा नदेखिने गरेर अवसर लिएका आरोप छ ।
कांग्रेसले सरकारको नेतृत्व पाउने अवसर पाउँदा पनि सत्तामा जान नहुने भनेर कोइरालाले टाङ्ग अडाएका छन् ।
कोइरालाले बागमती प्रदेशमा कांग्रेसले छोटो समयलाई मुख्यमन्त्री लिन गरेको प्रस्ताव आपत्तिजनक रहेको बताएका हुन् ।
सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)सँग करीव अढाइ महिना बागमतीमा कांग्रेसले मुख्यमन्त्री पाउने चर्चा चलिरहेको छ । कांग्रेस सत्तामा जाने अवसर पाउँदा मोरङबाट प्रतिनिधि सभाको सांसद पदमा नराम्रोसँग हारेका कोइरालाले विरोध गरेपछि कांग्रेसभित्र खैलाबैला भएको छ ।
‘बागमती प्रदेशमा संकटमा परेको एमाले प्रदेश सरकार परिवर्तन गर्ने क्रममा कांग्रेसको महाधिवेशनलाई लक्षित गरी अढाई महिना आफ्नो नेतृत्वमा सरकार बनाउन कांग्रेस नेतृत्वले नेकपा (एकीकृत समाजवादी)लाई गरिएको भनिएको प्रस्ताव आपत्तिजनक र अस्वीकार्य छ’, कोइरालाले भनेका छन्, ‘यसले कांग्रेस पार्टीलाई कमजोर बनाउँछ ।’
कोइरालाले ट्वीट गर्दै संघीयता धरापमा पार्ने र लोकतन्त्रको धज्जी उडाउन गरिने यस्ता व्यवहारले कांग्रेसका सदस्यहरू र आम जनतालाई के सन्देश दिन खोजिएको हो भनेर प्रश्न गरेका छन् ।
‘यस्ता कार्यमा संलग्न नहुन म सबैमा आग्रह गर्न चाहन्छु’, नेता कोइरालाले भनेका छन् ।
एमाले विभाजित भएपछि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छिन् । बागमती सरकार संकटमा परेपछि केन्द्रमा गठबन्धनमा रहेका दलहरूले बागमतीमा पनि नयाँ सरकार बनाउन खोजेका छन् ।
त्यसपछि कांग्रेसको नेतृत्वमा नयाँ सरकार बन्ने चर्चा छ । मुख्यमन्त्रीमा बागमती प्रदेशका कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको नाम चर्चामा आएको छ ।
मंसिर ९–१३ मा हुने कांग्रेसको १४औं महाधिवेशनलाई मध्यनजर गरी बानियाँ मुख्यमन्त्री बन्ने चर्चा चलेपछि कांग्रेसमा विवाद देखिएको हो । कांग्रेस नेता बानियाँले अढाई महिना आफ्नो नेतृत्वमा सरकार बन्ने कुरा गतल भएको बताएका छन् ।
बानियाँले बागमती प्रदेशमा सत्ता बाँड्नेबारे गठबन्धनको निर्णय नभएको बताएका छन् । ‘बजारको हल्लामा मिडिया चलेको छ’, बानियाँले भने, ‘अढाई महिना सरकारको नेतृत्व गर्ने कुरा गलत हो ।’
नेता बानियाँले कोइरालालाई बजार हल्लाका आधारमा जिम्मेवार नेताले टिप्पणी गर्न नहुने बताए । उनले कोइरालाको नाम नलिएर भने, ‘जिम्मेवार नेताहरूले बोल्दा तथ्यका आधारमा बोल्नुपर्छ । नेताहरूको गरिमालाई आफैले कायम गर्नुपर्छ ।’
‘एउटा कर्मचारी कांग्रेसको नेता बन्न सक्दै सक्दैन’, नेता बानियाँले भने, ‘नेता बन्नका लागि ठूलो छाती चाहिन्छ ।’
बानियाँले बजारको हावादारी कुुरामा प्रतिक्रिया दिने नेता कांग्रेस नेतृत्वका लागि योग्य नरहेको बताएका छन् ।
बानियाँले पार्टी सभापति शेरबहादुर देउवाको धर्यताबाट प्राप्त उपलब्धिलाई समाप्त गर्ने दिशामा केही नेताहरू लागेको बताएका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया