मकवानपुर कांग्रेसमा सभापति बानियाँले चलाए जादु, बालुवाटारसम्म चर्चा, को–को बने सभापति ?

हेटौँडा । नेपाली कांग्रेस मकवानपुर जिल्लाका दश वटा पालिकामा सभापतिसहित कार्यसमिति र प्रतिनिधिहरू चयन भएका छन् ।

मकवानपुर कांग्रेसका सभापति एवम् नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको विशेष पहलमा वडा र स्थानीय तहको निर्वाचन सम्पन्न भएको हो । बकैया गाउँपालिका र इन्द्र सरोवर गाउँपालिकामा सर्वसम्मत कार्यसमिति चयन भएको छ ।

बाँकी स्थानीय तहमा निर्वाचनबाट कार्यसमिति चयन भएको हो । स्थानीय तहमा सभापति बानियाँले कांग्रेसको संगठनमा सक्रिय नेताहरूलाई सभापतिमा निर्वाचित गराएका छन् ।

हेटौँडा उप–महानगरपालिकाको सभापतिमा उत्सव इटेनी निर्वाचित भएका छन् ।

बकैया गाउँपालिकाको सभापतिमा दिलबहादुर बम्जन सर्वसम्मत भएका छन् । भूगोलको हिसावले यो गाउँपालिका सबैभन्दा ठूलो गाउँपालिकामा पर्छ ।

ईन्द्रसरोवर गाउँपालिकाको सभापतिमा विश्व घलान सर्वसम्मत भएका छन् । कैलाश गाउँपालिकाको सभापतिमा राजेन्द्र घिसिङ, गढी गाउँपालिकाको सभापति राजवीर मोक्तान, मनहरी गाउँपालिकाको प्रकाश बर्तौला सभापतिमा निर्वाचित भएका छन् ।

बागमती गाउँपालिकाको सभापतिमा फडिन्द्र तिमिल्सिना, राक्सिराङ गाउँपालिकाको सभापतिमा वीरेन्द्र जिम्बा र भीमफेदी गाउँपालिकाको सभापतिमा सञ्जीव श्रेष्ठ निर्वाचित भएका छन् ।

थाहा नगरपालिकाको सभापतिमा प्रमोद जोशी निर्वाचित भएका छन् । थाहा नगर सभापति बाहेक सबै सभापतिहरू सभापति बानियाँ निकटका मान्छिन् ।

मकवानपुर कांग्रेसभित्र संगठन निर्माण र होल्ड गरेका सभापति बानियाँले एमाले, माओवादी राप्रपाका थुप्रै युवाहरूलाई कांग्रेसमा भित्र्याएका छन् ।

सभापति बानियाँले स्थानीय तहमा निर्वाचित सभापति, पदाधिकारी र सदस्य तथा प्रतिनिधिहरूलाई शुभकामना दिएका छन् । उनले आगामी निर्वाचनमा मकवानपुरमा कांग्रेसको चारतारे झण्डा गाड्ने गरेर संगठन निर्माणमा आजैदेखि लाग्न निर्देशन दिएका छन् ।

कम्युनिस्टहरूबाट जनता आजित बनेको भन्दै बानियाँले जनताको भरोसा कांग्रेसमा रहेको बताए । उनले जनताको भरोसालाई विश्वासमा लिएर काम गर्न कांग्रेसका नवनिर्वाचित सभापतिसहितको कार्यसमितिलाई आग्रह गरेका छन् ।

Published : Tuesday, 2021 September 28, 10:55 am

फेसबुकबाट तपाईको प्रतिक्रिया