गगनले कांग्रेसभित्र यसरी उथलपुथल ल्याइदिए, सिटौला–रिजाल–लेखकलाई तनाब
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले केन्द्रीय कार्यसमितिको बैठक बिना १४औं महाधिवेशनको कार्यतालिका हेरेफेर गरेको भन्दै शीर्ष नेतृत्वको आलोचना गरेका छन् ।
काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवनमा बिहीबार सम्वाददाताहरूसँग कुरा गर्दै थापाले पार्टीभित्र जवाफदेहिता देखिन छाडेको बताए । उनले केन्द्रीय कार्यसमितिको बैठक बिनै कार्यतालिका हेरफेर गरेको भन्दै आक्रोश पोखेका हुन् ।
नेता थापाले भने, ‘तोकिएको तिथिमिति जसरी केन्द्रीय समितिको बैठकै नबसी सार्ने काम भइरहेको छ, यो आपत्तिजनक छ ।’
‘यसरी सार्ने कुराले महाधिवेशनलाई अनिश्चित बनाउँछ’, कांग्रेसका युवा नेता थापाले भने, ‘यसरी सार्न पाइँदैन । यसरी सार्नु हुँदैन पनि ।’
नेता थापाले पार्टीको शीर्ष नेताहरूको गतिविधिका कारण आफू मंसिरमा महाधिवेशन हुनेमा ढुक्क हुन नसकेको बताएका छन् ।
उनले भने, ‘म महाधिवेशनका बारेमा नेपाली कांग्रेसको केन्द्रीय सदस्य भएर पार्टीको कुनै पनि सदस्यलाई ढुक्क भएर मंसिरमा महाधिवेशन हुन्छ भन्न सक्ने अवस्थामा छैन ।’
‘हल्का ढङ्गले एउटाले सारौं भन्ने अर्कोले हुन्छ भन्ने जुन अवस्था बन्यो’, नेता थापाले भने, ‘यसरी त भोलि गएर मंसिर आएपछि अब जाडो लाग्छ फागुनतिर गरौं भन्नुहोला ।’
नेता थापाले शीर्ष नेताहरूको हर्कतप्रति असन्तुष्टि जनाउँदै भनेका छन्, ‘नयाँ वर्ष लागेपछि गरौं भन्नुहोला ।’
थापाले केन्द्रीय कार्यसमितिले तोकेको महाधिवेशनको कार्यतालिकामा हेरफेर गर्दा केन्द्रीय सदस्यलाई पनि जानकारी नदिइएको बताएका छन् ।
कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन क्षेत्र र जिल्ला अधिवेशन दशैंअघि नै गर्ने कार्यतालिका भए पनि बुधबार बसेको पदाधिकारी बैठकले दशैंपछि गर्ने सहमति गरेको थियो ।
नेता रामचन्द्र पौडेलको प्रस्तावमा वडा अधिवेशन सकिएका जिल्लामा असोज ९ मा गाउँ÷नगर अधिवेशन गर्ने निर्णय गरेको थियो ।
‘संविधानले दिएको हदम्याद सकिएपछि सार्दै जान झनै सजिलो भएको छ’, उनले भने, ‘जति तन्काइ दिए पनि भयो । कसैले जवाफ नदिए पनि भयो ।’
क्रियाशील सदस्यताको विवाद टुंगाएर नामावली प्रकाशित गर्न नेताहरू कृष्णप्रसाद सिटौला, मीनेन्द्र रिजाल र रमेश लेखकलाई जिम्मेवारी दिइएको थियो । यी तीन जना नेताको भूमिकाप्रति थापाले प्रश्न उठाएका छन् ।
केन्द्रीय कार्यसमितिको बैठक बसेर पार्टी नेताहरूलाई कार्यअवधि तोकिएको उनले बताएका छन् ।
‘केन्द्रीय समितिको बैठकमा आएर यसकारण गर्न सकिएन भन्नु नपर्ने ?’, नेताहरूलाई प्रश्न गर्दै थापाले भने, ‘आफूलाई प्राप्त जिम्मेवारी पूरा गर्न नसकेपछि त्यसको जवाफ केन्द्रीय समितिलाई दिनुपर्छ ।’
थापाले १३ जिल्लाको क्रियाशील सदस्यता विवाद टुंगाउन तीन नेताले नसक्दा महाधिवेशन अनिश्चित बनाउने कार्यमा उनीहरुको पनि भूमिका देखिएको आरोप लगाएका छन् ।
नेता थापाले पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको दोहोरो जिम्मेवारीले पनि महाधिवेशन प्रभावित हुने कुरालाई थप प्रमाणित भएको बताएका छन् । थापाले घुमाउरो भाषामा कांग्रेसमा ‘एक व्यक्ति, एक पद’को कुरा उठाएर देउवाको आलोचना गरेका छन् ।
युवा नेता थापाले बिहीबार सम्वाददाताहरूसँग दिएको अभिव्यक्तिले शीर्ष नेताहरूलाई तनाब बढाइदिएको छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया