कांग्रेस नेतृत्वको सरकारले कमाल गर्‍यो, स्वास्थ्य राज्य मन्त्रीले क्रान्ति ल्याइदिए

काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको सरकारले चिनियाँ कम्पनी सिनोफार्मसँग खरिद गरेको ४४ लाख डोज कोरोनाविरुद्धको खोप एकसाथ काठमाडौं ल्याएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिनोफार्मसँग एक करोड खोप खरिद गरेको थियो । खरिद गरेको सबै खोप आइपुगेको छ ।

खेपमा ठूलो परिमाणमा खोप प्राप्त भएकाले असोज ४ देखि १४ गतेसम्म अभियानका रुपमा खोप कार्यक्रम सञ्चालन गर्न लागिएको स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले जानकारी दिएका छन् ।

राज्यमन्त्री श्रेष्ठले १८ वर्षभन्दा माथिको उमेर समूहलाई खोप लगाउने योजना रहेको बताए । उनले खोप भण्डारणमा कुनै समस्या नरहेको बताएका छन् ।

शुक्रबार आइपुगेको खोपको प्याकिङ फरक छ । यसअघि ल्याइएका खोपको एक भाइलमा दुई डोज खोप हुन्थ्यो । अहिले एक भाइलमा पाँच डोज छ । चीनबाट ल्याइएको खोप टेकुस्थित कोल्ड चेनमा राखिएको छ ।

राज्यमन्त्री श्रेष्ठले १० हिमाली जिल्लाका १८ वर्षभन्दा माथिका सबै नागरिकलाई खोप दिने योजना रहेको जानकारी दिएका छन् ।

हिमाली जिल्ला ताप्लेजुङ, सोलुखुम्बु, रसुवा, संखुवासभा, मुगु, रसुवा, जुम्ला, हुल्ला, डोल्पा, बाजुरा र दार्चुलाका उमेर पुगेका पूरै जनतालाई खोप दिइनेछ ।

गण्डकी र बागमती प्रदेशका लागि चाहिने खोप शुक्रबार नै पोखरा र हेटौंडामा पठाइसकेको छ । बाँकी प्रदेशमा शनिबारदेखि खोप पठाउन शुरु हुनेछ ।

काभ्रे र चितवनका ३५ वर्षभन्दा माथिको उमेर समूहका सबै नागरिकलाई खोप दिइनेछ ।

काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, रामेछाप, सर्लाही र अछाममा ४० वर्षभन्दा माथिका सबै नागरिकलाई खोप दिइनेछ ।

खोप लगाउन छुटेका विद्यार्थी, फन्टलाइनमा खटिएका, अतिआवश्यक सेवा, शिक्षक, पर्यटक क्षेत्रका व्यक्तिलाई खोप दिनेछ । बाँकी ५५ जिल्लाका ४५ वर्षमाथिका सबै नागरिकलाई खोप दिइनेछ ।

सरकारले असोज मसान्तसम्म देशको एकतिहाइ जनसंख्या र चैत मसान्तसम्म १८ वर्षमाथिका नागरिकलाई खोप लगाइसक्ने लक्ष्य राखेको छ । नेपालमा अहिलेसम्म १ करोड ७७ लाख ५८ हजार ७१० डोज खोप भित्रिएका छन् ।

२४ लाख ४८ हजार डोज कोभिशिल्ड, १९ लाख ७५ हजार ८६० डोज एस्ट्रेजेनेका, १५ लाख ३४ हजार ८५० डोज जोन्सन एण्ड जोन्सन र १ करोड १८ लाख डोज भेरोसेल खोप छन् । एक करोड भेरोसेल र १० लाख कोभिशिल्ड खरिद गरिएको हो ।

तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओलीले भारतसँग खरिद गरिएको १० लाख खोप अझै आएको छैन । चीनले अनुदानमा दिने घोषणा गरेको १६ लाख खोप पनि आउन बाँकी छ ।

नेपालमा पूर्ण खोप पाउनेको संख्या ५५ लाख ७ हजार ३८० पुगेको छ । उनीहरूमध्ये १४ लाख १५० जनाले एक डोज मात्रै लगाए पुग्ने जोन्सन एण्ड जोन्सन खोप लगाएका छन् ।

मनाङ र मुस्ताङमा १८ वर्षभन्दा माथि उमेर समूहका सबै नागरिकले खोप पाइसकेका छन् ।

Published : Friday, 2021 September 17, 10:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया