एसपी शाहले काम बिगारेपछि रौतहटमा एसपी घिमिरेले पाए जिम्मेवारी
काठमाडौं । नेपाली प्रहरीको मुख्यालयले जिल्ला प्रहरी कार्यालय रौतहटको जिम्मेवारी प्रहरी उपरीक्षक (एसपी) विनोद घिमिरेलाई दिएको छ ।
रौतहटका पत्रकारद्वय मोहम्मद मोजिबुल्लाह र शेख गुलाबलाई लागुऔषध राखेर फसाएको काण्ड बाहिरिएपछि एसपी सिद्धिविक्रम शाह प्रहरी मुख्यालय तानिएका थिए । शाह तानिएपछि रौतहटमा प्रहरी प्रमुख विहीन भएको थियो ।
प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले सोमबार एसपी घिमिरेलाई जिल्ला प्रहरी कार्यालय रौतहटमा काज सरुवा गरेको स्रोतले जनाएको छ ।
एसपी घिमिरे जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुर कार्यरत थिए । एसपी शाहलाई अनुसन्धानका लागि हेडक्वाटरमा तानिएका छन् ।
सादा पोसाकमा खटिने प्रहरी घुमुवाले लागुऔषध राखेर पत्रकारलाई फसाएको घटना बाहिरिएपछि शाह कारबाहीको दायरामा परेका हुन् ।
पत्रकार फसाएको घटना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्णकुमार महत नेतृत्वको ४ सदस्यीय समितिले छानबिन गरिरहेको छ ।
साउन ३२ मा गौर नगरपालिका–१ बाट पक्राउ परेका पत्रकार महम्मद मोजिबुल्लाह र राजपुर नपा–७ घर भएका शेख गुलाबलाई प्रहरीले फसाएको आरोप लागेको छ ।
मोजिबुल्लाहले पार्किङ गरेर राखेको बिआर–३० एस १८८५ नम्बरको भारतीय मोटरसाइकलमा १०५ ट्याब्लेट लागु औषध नाइट्राभेट प्रहरीले योजना बनाएर जिल्ला प्रहरी कार्यालय रौतहटले गरेको छानबिनबाट पुष्टि भएको छ ।
लागुऔषध नाइट्राभेट राख्ने भूमिकामा रहेका प्रहरी सहायक निरीक्षक (असई) उदयप्रसाद यादव र जवान मनोज शाहलाई निलम्बन गरिएको छ ।
लागुऔषध ‘प्लटिङ’ गरेको आरोपमा प्रहरीले स्थानीय धिरज यादव र जितेशकुमार यादवलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
प्रहरीसँग मिलेर लागुऔषध राखेर फसाउने भूमिकामा देखिएका पत्रकार महासंघ रौतहट शाखाका सह–सचिव सञ्जय सहनी फरार छन् ।
सहनी र एसपी शाहको बीच मोजिबुल्लाहलाई पक्राउ गरेपछि भएको कुराकानीको शंकास्पद अडियो बाहिरिएको थियो ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया