धैर्यता र इमान्दारिताले ६२ सिटको कांग्रेससामु दुईतिहाइको ओली सरकार ढल्यो : बानियाँ

हेटौँडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँले धैर्यता र लोकतन्त्रप्रतिको इमान्दारिताका कारण ६२ सिटको कांग्रेसले झण्डै दुईतिहाइको कम्युनिस्टमाथि विजयी हासिल गरेको बताएका छन् ।

नेपाल तरुण दल हेटौँडा उप–महानगरपालिका कार्यसमितिले बुधबार हेटौँडा बजारमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै बानियाँले भने, ‘नेपाली कांग्रेसमा रहेको ठूलो धैर्यता र लोकतन्त्रप्रतिको इमान्दारितामा आज प्रमाणित भएको छ ।’

‘कांग्रेसको निरन्तरता । कांग्रेसको लोकतन्त्रप्रति इमान्दार छ । सहनशील छ । धैर्य छ’, नेता बानियाँले भने, ‘त्यस कारण ६३ सिटको कांग्रेस १६५ को समर्थन लिएर बहुमतको केपी ओलीलाई फाल्न सफल भएको छ ।’

बानियाँले भने, ‘मान्छेले राजनीतिमा व्यापारमा कुनै पनि कुरामा धैर्यता राख्यो भने मान्छे भनेको लड्दै उठ्दै गर्ने हो । बच्चामा हिँड्ने बलामा लड्नै पर्छ नि ? लड्दै हिँड्दै गरेर मान्छ बड्छ ।’

‘राजनीतिमा पनि लड्यो भनेर आत्तिने होइन । र, पद पायो भनेर मात्तिने पनि होइन । राजनीति भनेको निरन्तर अभ्यास, प्रयास संघर्षमा अगाडि बढ्ने बाटो हो’, उनले भने, ‘जीवन चलाउन व्यापार पनि त्यस्तै हो ।’

नेता बानियाँले तरुण दललाई अनुशासित हुन निर्देशन दिएका छन् । ‘तरुण भेलाले भविष्यमा हुने कांग्रेसको वडादेखि जिल्लासम्मको निर्वाचनमा सहनशीलता, धैर्यता, अनुशासनलाई मूलमन्त्रको रुपमा राखेर अरुको जस्तो वाइसीएल र युथ फोर्स जस्तो झगडा र विवादमा फस्ने गुट र उपगुटमा फस्ने काम गर्नै भएन’, उनले भनेका छन् ।

‘क्रियाशील सदस्यमा तरुण पनि आउन सक्छन् । त्यसमा लाग्ने विषय अर्को कुरा भयो’, उनले भने, ‘पार्टीको नेतृत्वमा वडा सभापति हुनेलाई तरुण दलले सहयोग गर्ने । गाउँपालिकालाई त्यहाँको तरुण दलले सहयोग गर्ने । नगरपालिका र उप–महानगरपालिकालाई त्यहाँको तरुण दलले सहयोग गर्ने । जिल्लामा भोलि जो निर्वाचित भएर आउँछ त्यसलाई तरुण दलले सहयोग गर्ने हो ।’

नेता बानियाँले निर्देशन दिँदै भने, ‘तरुण दलले आफ्नो घमण्ड र उदण्ड देखायो भने युवा अवस्थामै वृद्ध हुन्छ । युवा अवस्थामा वृद्ध हुने भए जे गरे पनि भयो ।’

‘राजनीतिभित्र अनुाशसन भएन भने त्यो छाडा भयो । गुण्डा भयो’, बानियाँले भने, ‘राजनीतिभित्र अनुशासन अनिवार्य छ । अनुशासन भवियका लागि मार्गदर्शन हुन्छ ।’

Published : Wednesday, 2021 September 1, 10:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया