पहाडी जिल्लामा निर्वाचन क्षेत्र बढाउन कांग्रेस सचिवहरूको प्रस्ताव, ६५ वर्षे उमेर हदको माग

भेडोटार । नेपाली कांग्रेसका प्रदेश १ का जिल्ला सचिवहरूको भेलाले वडादेखि केन्द्रसम्म सर्वसम्मत नेतृत्व चयन गर्न अनुरोध गरेको छ ।

धनकुटा जिल्लाको भेडेटारमा सोमबार सम्पन्न भएको प्रदेश–१ का सचिवहरूको प्रदेशस्तरीय भेलाले १४औँ महाधिवेशनमा वडादेखि केन्द्रसम्म सर्वसम्मत नेतृत्व चयन गरी एकताको सन्देश दिन आग्रह गरेको हो । भेलाले १३ बुँदे भेडेटार घोषणा पत्र पनि जारी गरेको छ । भेला आइतबार र सोमबार दुई दिन चलेको थियो ।

भेलाको संयोजन नेपाली कांग्रेस मोरङका सचिव नागेश कोइरालाले गरेका थिए । धनकुटा कांग्रेसका सचिव विजयसन्तोषी राईले सचिवहरूलाई स्वागत गरेका थिए ।

तेह्रथुमका सचिव सन्तोष सुब्बा, संखुवासभाका सचिव डम्बर बस्नेत, भोजपुरका सचिव कैशालकुमार आले मगरले जिल्ला सचिवहरूको अनुभव आदन प्रदान गरेका थिए । उनीहरूले सहकार्य र सहयोगका लागि आग्रह पनि गरेका छन् ।

झापाका सचिव प्रेम सम्वाहाम्फे, सुनसरीका सचिव सुजेन्द्र तामाङ, संखुवासभाका सचिव निर्मला तामाङ र सुनसरीका सह–सचिव नगेशचन्द्र राईलगायतले कांग्रेसको संगठन विस्तार तथा सुदृढीकरणमा भूमिका खेल्न आग्रह गरेका थिए ।

जिल्ला सचिवहरूको भेलाले पहाडी जिल्लाहरूमा राज्यको पहुँच र विकास गर्न भौगालिक अवस्थालाई आधार मानेर निर्वाचन क्षेत्र बनाउन सुझाव दिएका छन् ।

उनीहरूले एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका पहाडी जिल्लाहरूमा प्रतिनिधि सभा क्षेत्रको संख्या थप गरी वैज्ञानिक र व्यवहारिक बनाउन माग गरेका छन् ।

जनसंख्याको आधारमा मात्रै प्रतिनिधि सभा निर्वाचन क्षेत्र बनाउँदा पहाडी जिल्लाहरूलाई अन्याय भएको छ । भौगोलिक रुपमा ठूला र विकट रहेका पहाडी जिल्लाहरूमा दुई वटा निर्वाचन क्षेत्र बनाउनु पर्ने माग उठिरहेका बेला कांग्रेसका जिल्ला सचिवहरूले यो मागलाई जोडदार रुपमा अगाडि सारेका छन् ।

सचिवहरूले कोरोनाविरुद्धको खोप कांग्रेस नेतृत्वको सरकारले तीब्र रुपमा लगाएको जनाउँदै खोप अभियानलाई थप प्रभावकारी र सशक्त बनाउन सुझाव दिएका छन् । उनीहरूले खोप अभियानमा सरिक हुन सर्वसाधारणलाई आह्वान पनि गरेका छन् ।

सचिवहरूले प्रदेश १ मा कांग्रेसको नेतृत्वमा सरकार बनाउन पहल गर्न नेतृत्वसँग आग्रह गरेका छन् ।

१५औं महाधिवेशनदेखि लागू हुने गरी ६५ वर्षे उमेर हद कायम गर्न सचिवहरूको भेलाले माग गरेको भोजपुर कांग्रेसका सचिव कैलाशकुमार आले मगरले जानकारी दिएका छन् ।

केन्द्रीय सदस्यलाई पनि महाधिवेशन प्रतिनिधि हुन वडाबाट प्रतिस्पर्धा गर्न सचिवहरूले सुझाव दिएका छन् ।

भेलामा कांग्रेसका युवा नेता उमेशजंग रायमाझी, धनकुटा प्रदेश सभा १ का क्षेत्रीय सभापति जितेन्द्र राई, नेपाल तरुण दल धनकुटाका रुपेश श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।

Published : Monday, 2021 August 30, 10:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया