देउवाले कम्युनिस्ट मेयरलाई ठूलो छाती बनाएर गरे सहयोग, खुसी भए विद्यासुन्दर शाक्य

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका कम्युनिस्ट मेयर विद्यासुन्दर शाक्यले काठमाडौंको फोहर व्यवस्थापन गर्न नसकेको भन्दै सहयोग गर्न अनुरोध गरेका छन् ।

प्रधानमन्त्री देउवालाई पत्र लेखेर मेयर शाक्यले ल्याण्डफिल साइट जाने सडक छिटो बनाइदिन पहिल गरिदिन आग्रह गरेका हुन् । प्रधानमन्त्री देउवाले पनि सरोकारवाला निकायलाई फोहर व्यवस्थापनमा कठिनाइ भएको भन्दै छिटो कामहरू गर्न निर्देशन दिएका छन् ।

देउवाले फोहर व्यवस्थापनमा भएका अबरोधहरू छिटो हटाएर आफूलाई जानकारी गराउन निर्देशन दिएका छन् । देउवाले जनतालाई असुविधा हुने कामहरू गर्न नहुने भन्दै फोहर व्यवस्थापन गर्न सबैले सहयोग गर्नुपर्ने बताएको स्रोतले जनाएको छ ।

नेपाल सरकारले नुवाकोटको सिसडोल, बञ्चरेडाँडामा बनाइरहेको ल्यान्डफिल साइट निर्माण पूरा नभएको र सिसडोलसम्म जाने बाटो अत्यन्तै खराब भएकाले फोहर व्यवस्थापन गर्न कठिन भएको मेयर शाक्यले बताएका छन् ।

मेयर शाक्यले उपत्यकाको फोहोर फाल्ने स्थान नुवाकोटको सिसडोलसम्म पुग्ने सडक निर्माणका लागि प्रधानमन्त्रीलाई अनुरोध गरेको बताएका छन् ।

प्रधानमन्त्री देउवालाई भेट्न सोमबार मेयर शाक्य, उप–मेयर हरिप्रभा खड्गी श्रेष्ठलगायत जनप्रतिनिधि बालुवाटार पुगेका थिए ।

शाक्यले पत्रमा लेखेका छन्, ‘नेपाल सरकारबाट काठमाडौं उपत्यकाको फोहरमैलाको दीर्घकालीन समस्या समाधानका लागि निर्माणाधीन बञ्चरे डाँडा स्यानीटरी ल्यान्डफिल साइटको अहिलेसम्म पनि निर्माण कार्य सम्पन्न नभएको र त्यो ल्यान्डफिल साइटमा पुग्ने बाटो समेत निर्माण सम्पन्न हुन नसकेको कारण उपत्यकाको फोहरमैला व्यवस्थापनमा अवरोध पुगेको छ ।’

‘यस अवस्थामा तत्काल बञ्चरे डाँडा ल्यान्डफिल्ड साइट र त्यो साइटसम्म पुग्ने बाटो अविलम्ब निर्माण गरी गरिदिनु हुने अनुरोध गर्दछ’, मेयर शाक्यले भनेका छन् ।

अहिले काठमाडौं महानगरपालिकाबाहेक २० भन्दा बढी नगरपालिकाबाट उत्सर्जन हुने फोहरको अन्तिम जिम्मेवारी काठमाडौं महानगरपालिकाबाट हुँदै आएको पत्रमा उल्लेख छ ।

झण्डै दुई हप्तादेखि काठमाडौं महानगरभित्रको फोहर उठ्न सकेको छैन । फोहर उठाउन नसक्दा सडकमा दुर्गन्ध फैलिएको छ । फोहर व्यवस्थापन गर्न नसकेपछि कम्युनिस्ट मेयर शाक्य सहयोगका लागि प्रधानमन्त्री देउवाको शरणमा पुगेका छन् ।

निर्वाचनका बेला ठूला–ठूला गफ लगाएर मेयरमा एमालेबाट निर्वाचित भएका शाक्यले काम गर्न नसकेको भनेर आलोचना हुँदै आएको छ । मेयर शाक्यले चियाखाजा र बैठक भत्ताकै नाममा कारोडौँ रुपियाँ भ्याएका छन् ।

Published : Monday, 2021 August 30, 8:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया