दार्चुला घटनासम्बन्धी छानविन समितिको म्याद थप हुने
काठमाडौं । दार्चुलामा तुइन चुडिँदा एक युवा बेपत्ता भएको घटनाका विषयमा गृह मन्त्रालयद्वारा गठन गरिएको छानविन समितिको समय थप हुने भएको छ ।
समितिका सदस्यहरूले आफ्नो काम सम्पन्न नगरिसकेको हुनाले केही समय म्याद थप्ने तयारी भएको गृह मन्त्रालय निकट उच्च स्रोतले जनाएको छ । समितिलाई दिइएको समय मंगलबार सकिदैछ ।
‘समितिका एक जना सदस्य काम विशेषले अन्यत्रै रहेकाले प्रतिवेदन तयार पार्ने सहितका काम गर्न केही ढिलाइ हुने भएको छ’, स्रोतले भन्यो, ‘गृह मन्त्रालयले समितिलाई केही समय थप्ने तयारी गरेको छ ।’
गृह मन्त्रालयका सह–सचिव जनार्दन गौतमको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको थियो ।
समितिमा प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सान भट्ट सदस्य छन् ।
गृह मन्त्रिस्तरको निर्णयबाट गठित छानबिन समितिलाई दार्चुला पठाइएको थियो । दार्चुलाको घटनाबारे जानकारी पाउनेवित्तिकै गृहमन्त्री बालकृष्ण खाणले गाम्भीर्यता देखाएका थिए ।
दार्चुलाको मालाघाट र भारतको गस्कुबाट तुइन तर्ने क्रममा तुइनबाट खसेर ३३ वर्षीय जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएका थिए ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया