शेरबहादुर दाई यिनीहरूलाई मन्त्री बनाउन सक्नु हुन्छ ? हिम्मत गर्नुस्
काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको सरकार विस्तार हुने चर्चा र गृहकार्यहरू भइरहेका छन् ।
झण्डै डेढ महिनापछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तार गर्दै छन् । मन्त्रिपरिषद विस्तार हुँदै गर्दा समावेशी र सबैलाई अधिकतम समेट्नुपर्ने सुझावहरू आइरहेका छन् ।
प्रधानमन्त्री देउवाले यसअघि कांग्रेस र माओवादी केन्द्रका सांसदहरूलाई मन्त्री बनाइसकेका छन् ।
कांग्रेसको तर्फबाट गृहमन्त्री बालकृष्ण खाण, कानूनमन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की तथा स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ छन् ।
माओवादीले जनार्दन शर्मालाई अर्थ मन्त्री र पम्फा भुसाललाई उर्जा मन्त्री बनाएको छ ।
सरकारको नेतृत्व गरेको कांग्रेसले उमेश श्रेष्ठलाई मन्त्री बनाएर जनजातीको कोटा पूरा गरेको छ । तर, महिला, मधेसी, आदिवासी, दलित र मुस्लिमबाट मन्त्री बनाइएको छैन । यस पटकको मन्त्रिपरिषदमा महिला, मधेसी, दलित, मस्लिम पर्नुपर्ने माग उठेका छन् । प्रधानमन्त्री देउवालाई सबै कुराको जानकारी छ ।
देउवाले चाहँदा पनि थोरै मन्त्रालय भएका कारण सबैलाई मन्त्री बनाउन सक्ने छैनन् । तर, देउवाले अधिकतम रुपमा मन्त्रिमण्डलाई समावेशी बनाउँदा उचित हुन्छ ।
माओवादीले दुई जना मन्त्री क्षेत्री, बाहुनबाट बनाएको छ । बाँकी मन्त्रीहरू दलित, जनजाती, मधेसीलगायतबाट सिफारिस गर्दा उचित हुन्छ ।
नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले पनि समावेशी रुपमा मन्त्रीहरू सिफारिस गर्नुपर्ने सुझावहरू आइरहेका छन् ।
नेताको कोटको गोजीबाट निकालेर व्यापारी वा पैसावाललाई मन्त्री बनाउने परम्पराको अन्त्य हुनुपर्ने सुझाव छ । कांग्रेसबाट मन्त्री बनेका ज्ञानेन्द्रबहादुर कार्की गृहजिल्ला भोजपुरबाट कहिल्यै पनि जित्न सकेनन् ।
आफ्नै जिल्लाबाट विस्थापित भएर सुनसरीबाट जितेका कार्कीलाई देउवाले पटक–पटक अवसर दिँदै आएका छन् । कार्की जस्ता सांसद र नेताहरूलाई मात्रै अवसर दिने हो भने अरुले किन राजनीति गर्ने भनेर प्रश्न पनि उठ्ने गरेका छन् ।
सरकारको नेतृ गरेको दल कांग्रेसमाथि सबैको नजर छ । कांग्रेसले आफ्ना आसेपासेलाई मन्त्री बनाउँछ वा राम्रो काम गरेका र जनतामा पकड भएका नेताहरूलाई मन्त्री बनाउँछ हेर्न बाँकी छ । कांग्रेसले मन्त्री बनाउँदा युवाहरूलाई विशेष ध्यान दिनुपर्ने सुझाव छ ।
कांग्रेसबाट मुस्लिमहरू मन्त्री बनेका छैनन् । दलित महिला पनि मन्त्री बनेका छैनन् । मधेसी समुदायबाट पनि छुटाउनु हुँदैन ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया