विद्यासुन्दर–हरिप्रभाले काठमाडौं महानगरमा चिया–खाजा–भत्तामै करोडौँ सिध्याए
काठमाडौं । काठमाडौं महानगरपालिकाका कम्युनिस्ट मेयर विद्यासुन्दर शाक्य र नेपाली कांग्रेस समर्थक उप–मेयर हरिप्रभा खड्गी श्रेष्ठले लाखौं रुपियाँ भत्ता र चियाखाजा खर्चमा भ्याएको तथ्य बाहिरिएको छ ।
महानगरपालिकाले तीन लाख ३९ हजारको चिया पिएको तथ्य बाहिर आएपछि मेयर शाक्य र उप–मेयर खड्गीको आलोचना भएको छ ।
महालेखापरीक्षकको कार्यालयको ५८औँ प्रतिवेदनमा उनीहरूले कानूनविपरीत एकै दिन एकभन्दा बढी बैठक बसेर सुविधा लिएको उल्लेख छ ।
लकडाउनको समयमा समेत अतिरिक्त काम गरेको भन्दै मेयर शाक्य र उप–मेयर खड्गीले लकडाउन भत्ता पनि बुझेको प्रतिवेदनमा उल्लेख छ ।
मेयर शाक्य र उप–मेयर खड्गीसहितका पदाधिकारीहरूले नियमविपरीत बुझेको एक करोड ३६ लाख ४४ हजार असुल गर्न महालेखाले निर्देशन दिएको छ ।
उनीहरूले नगरसभा र नगर कार्यपालिका बैठकको मात्रै अतिरिक्त २६ लाख १२ हजार भत्ता बुझेका छन् ।
विपन्न नागरिकलाई उपचार सिफारिस गर्न भन्दै बसेका बैठकहरूमा भत्तामा मात्र १० लाख १० हजार रुपियाँ खर्च भएको छ ।
वडा कार्यालयका विभिन्न बैठकमा वडाध्यक्ष र सदस्यहरूले कानूनविपरीत ४४ लाख बुझेका छन् ।
कानूनभन्दा बाहिर गएर वितरण गरिएको ४४ लाख असुल गर्न महालेखाले महानगरलाई भनेको छ ।
वडा सदस्यलाई खाजा खर्च र गाडी सुविधा दिइएको छ । यो शीर्षकमा भएको ६१ लाख ३२ हजार अतिरिक्त खर्च असुल गर्न महालेखाले निर्देशन दिएको छ ।
चिनियाँ र बंगलादेशी राष्ट्रपति आउँदा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेसहित नौ कर्मचारीले २९ लाख रुपियाँँ भत्ता बुझेका छन् ।
कार्यदलका संयोजक न्यौपानेले ५१ हजार पाँच सय ७५ तथा सदस्यहरू उत्तरकुमार रेग्मी, नूरनिधि न्यौपाने, रविमान श्रेष्ठ र रामबहादुर थापाले ३७ हजार तीन १५ रुपियाँका दरले भत्ता बुझेका छन् ।
सदस्यहरू धनपति सापकोटा र हरिकुमार श्रेष्ठले जनही ३४ हजार तीन सय २३ तथा सरोज बस्नेतले ५१ हजार पाँच सय ७५ रुपियाँ बुझेका छन् ।
कोरोना नियन्त्रणका लागि विनियोजित रकमबाट महानगरपालिकाले पाँच लाख ९३ बाट ८४ हजार सात सय ५० रुपियाँले तीनवटा मोबाइल र पाँच लाख आठ हजारले एक हजार ८० थान हाफ ज्याकेट खरिद गरेको खुलेको छ ।
महानगरपालिकाले एक लाख १७ हजार १४ थान डिस्पोजेबल मास्क किन्न एक करोड ४६ लाख ९६ हजार एक सय ८४ रुपियाँ खर्च गरेको छ ।
काठमाडौं महानगरपालिकाले कर्मचारीलाई तलबका नाममा नियमविपरीत १९ लाख २४ हजार बाँडेको छ ।
महानगरपालिकाले कर्मचारीलाई चारथरी भत्ता बाँडेर वर्षमै साढे १६ करोड रुपियाँ सकेको छ ।
कर्मचारी ओभरटाइममा ७४ लाख, प्रोत्साहन तथा विविध भत्तामा १२ करोड ४२ लाख, सवारी भत्तामा १३ लाख र महानगर भत्तामा तीन करोड
११ लाख गरी १६ करोड ४२ लाख खर्चेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।
प्रमुख प्रशासकीय अधिकृतसहितका कर्मचारीलाई सञ्चार सुविधा दिएर आठ लाख ४० हजार रुपियाँ ध्वस्त पारिएको छ ।
चिनियाँ राष्ट्रपति आउने भएपछि तिनकुने सौन्दर्यकरणका नाममा २७ लाख ६१ हजार खर्च भएको महालेखाले जनाएको छ ।
महानगरपालिकाले डेढ करोडका स्यानेटरी प्याड खरिद गरेर विद्यालयका छात्राहरूलाई वितरण गरेको दाबी गरेको छ ।
महानगरले ९३ सामुदायिक विद्यालयको रंगरोगनका लागि १२ करोड ९१ लाख खर्चेकोमा एक करोड ६९ लाख रुपियाँ नियमविपरीत खर्च भएको महालेखाले जनाएको छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया