कम्युनिस्ट जस्तो कांग्रेसले झुठको खेती गर्दैन : पाण्डे, गोरखामा भत्कियो नारायणकाजीको किल्ला

गण्डकी । गोरखा जिल्लामा माओवादी कन्द्रका नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

गण्डकी गाउँपालिका वडा–७ र ८ दरामा शनिबार आयोजित अन्तरक्रिया एवम् पार्टी प्रवेश कार्यक्रममा माओवादी केन्द्रका ३० जना स्थानीय नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन् ।

नवप्रवेशीहरूलाई कांग्रेसका केन्द्रीय सदस्य एवम् राष्ट्रिय सभाका संसदीय दलका पूर्व नेता सुरेन्द्र पाण्डेले स्वागत गरेको युवा नेता शरण श्रेष्ठले जानकारी दिए ।

कांग्रेस नेता पाण्डेले जनताले दिएको मतको अपमान गर्दै कम्युनिस्टहरू अधिनायकवादतिर गएपछि कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गरेर मुलुकलाई लोकतान्त्रिक र संवैधानिक मार्गमा ल्याएको बताए । उनले अबको निर्वाचनमा कांग्रेसको रुख चिन्हमा मतदान गरेर कांग्रेसबाट उम्मेदवार बन्नेहरूलाई जिताउन अनुरोध गरेका छन् ।

उनले भने, ‘कांग्रेस ५ वर्षका लागि प्रतिपक्षमा बसेको थियो । झण्डै दुईतिहाइको बहुमत पाएका कम्युनिस्टलाई सरकार चलाउन रचनात्मक सहयोग गरेको थियो ।’

‘कम्युनिस्टहरू व्यक्तिगत स्वार्थका लागि झगडा गरेर आफै पार्टी विभाजन गरेर अधिनायकको बाटोमा गएका थिए’, उनले भने, ‘मुलुक चलाइदेउ भनेर सभापति शेरबहादुर देउवासँग अनुरोध गरेपछि कांग्रेसले मुलुक र जनताका लागि सरकारको नेतृत्व गरेको छ ।’

नेता पाण्डेले नवप्रवेशीहरूलाई कांग्रेसले उचित सम्मान गर्नेभन्दै कम्युनिस्टले जस्तो झुठको खेती गरेर भ्रममा नराख्ने बताए ।

कार्यक्रममा कांग्रेसको १४औँ महाधिवेशनको तयारी र कसरी अगाडि बढ्ने भन्ने रणनीतिका विषयमा छलफल भएको थियो ।

गोरखा जिल्लाबाट माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ प्रतिनिधि सभा निर्वाचनमा पराजित भएका थिए । श्रेष्ठले ५ वर्ष पर्खिन नसकेर झ्यालबाट छिरेर राष्ट्रिय सभाको सांसद बनेका छन् ।

माओवादीले जनताको सेवा गर्नेभन्दा पनि आफ्नै व्यक्तिगत स्वार्थमा केन्द्रित रहेर काम गरेको भन्दै नवप्रवेशीहरूले पार्टी परित्याग गरेर कांग्रेसमा प्रवेश गरेको जनाएका छन् ।

Published : Saturday, 2021 August 28, 10:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया