रोशनी काण्डमा सभामुख गुमाएका महराद्वारा श्रेष्ठको पद कब्जा, यसरी गरे धामाका कम्ब्याक
काठमाडौं । रोशनी शाही काण्डमा न्यायालयबाट सफाइ पाएका कृष्णबहादुर महरालाई माओवादी केन्द्रले पार्टी प्रवक्ताको जिम्मेवारी दिएको छ ।
रोशनी काण्डमा परेका महराले लामो समयपछि सफाइ पाएका हुन् । रोशनी काण्डले गर्दा महराले प्रतिनिधि सभाको सांसद पद नै गुमाएका थिए । केही महिना जेलमा पनि बस्न बाध्य भएका थिए । दशैँको टीका आउँदै गर्दा महरा रोशनी काण्डमा पक्राउ परेका थिए ।
माओवादीले एमालेसँग पार्टी एकता गरेपछि प्रवक्ताको जिम्मेवारीमा नारायणकाजी श्रेष्ठ थिए । माओवादीका प्रवक्ता श्रेष्ठलाई हटाएर महराले प्रवक्ताको जिम्मेवारी कब्जा गरेका छन् । प्रवक्ताको जिम्मेवारी पाएसँगै महरा माओवादीमा फेरि पकड बनाउन लागेको संकेत दिएका छन् । माओवादीले महरालाई प्रचार तथा प्रकाशन विभाग प्रमुखको समेत जिम्मेवारी दिएको छ ।
भदौ ६ मा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेको परिपत्रमा नेताहरूलाई जिम्मेवारी दिइएको उल्लेख छ ।
केन्द्रीय कमिटी र स्थायी कमिटी बैठकका निर्णयअनुसार माओवादीले प्रदेश समिति, पार्टी विभाग, जिल्ला ईञ्चार्जहरूसमेत तोकेको छ । अध्यक्ष दाहालले प्रदेश नम्बर १ मा सुरेन्द्र कार्की ईञ्चार्ज बनाएका छन् । अध्यक्षमा सुरेन्द्रकुमार राईलाई तोकिएको छ ।
प्रदेश नम्बर २ को ईञ्चार्जमा गणेश शाह छन् । बागमती प्रदेशको ईञ्चार्जमा हितमान शाक्य र अध्यक्षमा नारायण दाहाल छन् । नारायण दाहाल अध्यक्ष प्रचण्डका भाइ हुन् ।
गण्डकी प्रदेश ईञ्चार्जमा हितराज पाण्डेलाई प्रचण्डले जिम्मेवारी दिएका छन् । अध्यक्षमा हरि अधिकारीलाई तोकिएको छ ।
लुम्बिनीको ईञ्चार्जमा चक्रपाणि खनाललाई तोकिएको छ । अध्यक्षको जिम्मेवारी ओनसरी घर्तीले पाएकी छिन् । ओनसरी माओवादी नेता वर्षमान पुनकी पत्नी हुन् । ओनसरी र वर्षमानको जोडी माओवादीभित्र सबैभन्दा धेरै अवसर लिने नेतामा पर्छ ।
कर्णालीको ईञ्चार्ज शक्ति बस्नेतले कब्जा गरेका छन् । अध्यक्षमा राजकुमार शर्मा चयन भएका छन् । सुदूरपश्चिम प्रदेश ईञ्चार्जमा खगराज भट्ट छन् ।
माओवादीले विशेष समिति ईञ्चार्जमा लिलामणि पोखरेल र अध्यक्षमा लेखनाथ न्यौपानेलाई तोकेको छ । प्रवास समिति ईञ्चार्जमा नारायणकाजी श्रेष्ठ र अध्यक्षमा ओम शर्मालाई जिम्मेवारी दिइएको छ ।
माओवादीले जिल्ला समन्वय समितिका ईञ्चार्जहरू पनि तोकेको छ । उपत्यका विशेष समिति पनि बनाएको छ । अर्थ तथा योजना विभाग प्रमुखमा वर्षमान पुन, कृषि तथा भूमिसुधार प्रमुखमा हरिबोल गजुरेल, निर्वाचन विभागमा खिमलाल देवकोटा, विदेश मामला विभागमा सुरेन्द्र कार्की, संगठन विभाग प्रमुखमा जनार्दन शर्मा, राष्ट्रिय सुरक्षा विभागमा कृष्णबहादुर महरा छन् ।
स्वास्थ्य विभागमा कल्पना धमला, स्कुल विभाग ईञ्चार्जमा प्रचण्ड र प्रमुखमा गिरिराजमणि पोखरेल छन् ।
सहरी विकास विभागमा देवेन्द्र पौडेल, स्थानीय तह विभागमा उर्मिला अर्याललाई जिम्मेवारी दिइएको छ । भौतिक पूर्वाधार विभागमा हरि अधिकारीले जिम्मेवारी पाएका छन् ।
नीति अनुसन्धान प्रतिष्ठानको प्रमुखमा रामचन्द्र झा छन् । वन तथा वातावरण विभागमा शक्ति बस्नेत प्रमुख रहेको माओवादीले जनाएको छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया