देउवा सकारात्मक भएपछि धर्ना बसेका जिल्ला सभापतिहरू खुसी
काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले क्रियाशील सदस्यहरूको नामावली तत्काल सार्वजनिक गर्न माग गर्दै नेपाली पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिएका छन् ।
जिल्ला सभापतिहरूले मंगलबार धर्ना दिएपछि सभापति शेरबहादुर देउवाले माग सम्बोधन गर्ने आश्वासन दिएका छन् । सभापति देउवा आफू १४औँ महाधिवेशन गर्न आतुर रहेको भन्दै जिल्ला सभापतिहरूलाई अधिवेशनको तयारीमा जुट्न निर्देशन दिएका छन् ।
सभापति देउवाले जिल्ला सभापतिहरूको माग बमोजिम तत्काल नामावली सार्वजनिक गर्न पार्टीका सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।
प्रवक्ता विश्वप्रकाश शर्माले जिल्ला सभापतिहरूको मागका सम्बन्धमा सभापति देउवाको ध्यानाकर्षण भएको बताएका छन् । उनले छिट्टै प्रक्रिया पूरा गरेर नामावली सार्वजनिक गरिने बताएका छन् ।
क्रियाशील सदस्यता छानबिन समितिको प्रतिवेदन सभापति देउवाले रुजु गरिसकेपछि तथा निर्वाचन समितिले अन्तिम रुप दिएपछि पार्टीको वेबसाइटमार्फत सबैको पहुँचमा पुग्नेगरी सार्वजनिक हुने प्रवक्ता शर्माले बताएका छन् ।
क्रियाशील सदस्यहरूको विवाद सोमबर मिलेको छ । विवाद मिलेपछि कांग्रेसको १४औँ महाधिवेशन हुने पक्का भएको छ ।
सभापति देउवाले क्रियाशील सदस्यहरूको नामावली सार्वजनिक गर्ने आश्वासन दिएपछि जिल्ला सभापतिहरूमा खुसी छाएको छ । धर्नामा बसेकाहरू रामचन्द्र पौडेल समूहका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया