ओलीलाई बम्पर अफर, अष्टलक्ष्मीबारे नेपालको खुलासाले बालकोटमा खैलाबैला
काठमाडौं । प्रस्तावित नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको पछिल्लो अभिव्यक्तिले एमालेका अध्यक्ष खड्गप्रसाद ओलीलाई तनाब बढाइदिएको छ ।
काठामडौंमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा नेता नेपालले अष्टलक्ष्मी शाक्य आफूसँगै रहेको संकेत गरेका छन् । ओली समूहमा शाक्य लागेका बेला नेपालले शाक्यलाई आफूले नै ओली समूहमा पठाएको बताएका छन् ।
‘अष्टलक्ष्मी शाक्यको बारेमा मेरो सल्लाहले नै उहाँ हुनुभएको हो । मेरो सहमति लिनुभएको हो’, उनले भने, ‘उहाँ पनि अफ्ठ्यारोमा हुनुहुन्छ । पार्टी अलग बनिसकेपछि एउटा पार्टी रोज्नुपर्ने अवस्था बन्छ । उहाँमाथि भरपर्ने कुरा हो ।’
‘अहिले म धेरै भन्न चाहन्न । नयाँ पर्टी बनेपछि २१ दिनभित्र कुन पार्टी रोज्ने भनेर प्रतिनिधि सभा सदस्यको हकमा र स्थानीय तहको प्रतिनिधिको हकमा २१ दिनको समय हुन्छ’, नेपालले भने, ‘त्यो समयभित्र उहाँहरूले कता रोज्नु हुन्छ ? मेरो अनुमतिबाट नै उहाँ जानुभएको हो ।’
‘केपी ओलीले एकलौटी पार्टी कब्जा गर्ने स्थिति भएपछि । त्यहाँ जाने ढोका बन्द भइसकेपछि । त्यसमा पनि १४ जना सांसदलाई पूरै पार्टीबाट निष्काषन गरिसकेपछि र हामीलाई पनि पार्टीबाट निष्कार्षन गरिसकेपछि त्यो पार्टीको ढोका बन्द भयो’, अध्यक्ष नेपालले भनेका छन् ।
‘पार्टीको ढाको बन्द भएपछि । पार्टीबाट निष्काषन भइसकेपछि हाम्रो सामू कुनै बिकल्प बाँकी रहेन’, उनले भने, ‘निष्काषित भइसकेपछि कित हामीले घुँडा टेक्नु पर्थ्यो । कि चुप लागेर सडकमा बस्नु पर्थ्यो ।’
उनले भने, ‘कीत हामीले क्रान्तिकारी पार्टी निर्माण गरेर नेपाली राजनीतिको कम्युनिस्ट आन्दोलनको इतिहाँसमा बिद्रोहहरूले नै सफलता हासिल गरेको बिगतको इतिहाँस, दक्षिणपन्थी अवसरवादी पराजित गरेको त्यो इतिहाँसलाई साँक्षी राखेर नयाँ कदम चाल्ने काम गरेका छौँ । नेकपा (एकीकृत समाजदावी) पार्टी हामीले दर्ता गरेका छौँ ।’
‘२०७८ भदौको ४ गते अर्को पार्टी दर्ता गर्ने काम गरेका हौँ । भदौ ९ गते सनाखत गर्न भनिएको छ । हामी सनाखत गर्ने छौँ’, उनले भने, ‘हामीसँग २० प्रतिशतभन्दा बढीको संख्यामा भएका केन्द्रीय कमिटीका सदस्य रहेका छन् । संसदमा पनि २० प्रतिशतभन्दा बढी हुन्छ ।’
उनले भने, ‘निर्वाचन आयोगमा दर्ता भएको २०३ जनाको केन्द्रीय कमिटीको २० प्रतिशतभन्दा धेरै हुन आएको हुनाले त्यसलाई हामीले कायम राख्यौँ ।’
अध्यक्ष नेपालले भने, ‘चाहे वार्तामा जुट्नुभएका कमरेड हुनुहोस् । वार्तामा नजुटेर पनि भूमिका खेलिरहेका कमरेड हुनुहोस् । सबै मिलेर एकताबद्ध भएर जाने कोशिसमा छौँ ।’
‘अब केपीको कित्ता एकातिर भएको छ । अर्को क्रान्तिकारी कित्ता अर्कोतिर भएको छ । कम्युनिस्ट पार्टीको पुनर्गठनको अभियान शुरु भएको छ’, उनले भने, ‘पुनर्गठित कम्युनिस्ट पार्टीले अब अरु वामपन्थी पार्टीहरूसँग एकतावद्ध हुँदै भोलि चुनावी तालमेल पनि गर्नेछ ।’
‘राष्ट्रियता, संविधान र लोकतन्त्रको रक्षाको लागि तथा परिवर्तनको रक्षाका लागि अगाडि बढ्नका लागि भ्रष्टाचारलाई निर्मूल पार्दै सुशासनको प्रत्याभूति दिनको लागि जनताका पिरमर्कालाई सम्बोधन गर्दै यो सरकार अगाडि बढोस्’, उनले भनेका छन् ।
‘भोलिका दिनमा केपी ओलीको एमालेमा धारणा परिवर्तन भयो भने ढोका सधैँ खुला छ । पार्टी गठन हुनेवित्तिकै पनि हामी पार्टी एकताका लागि हामी तयार हुन्छौँ’, नेपालले भनेका छन् ।
‘पार्टी गठन गर्नै नदिइकन हामीलाई अलपत्र पार्ने षड्यन्त्र भइरहेको छ । हामीलाई घर नघाटको बनाउने षड्यन्त्र भइरहेको छ । न यता जान दिने न उता जान दिने ? न केपी ओलीको गतिविधिलाई रोक्ने । केही पनि नगर्ने । यो मौका समाप्त गरिदिने हामीलाई सबै किसिमको आन्दोलनबाट बञ्चित गरिदिने षड्यन्त्रको काम गर्छौं’, उनले भनेका छन्, ‘कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउने छौँ ।’
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया