तरुण दलद्वारा अफगानिस्तानमा रहेका नेपालीहरूको उद्धार गर्न आग्रह

काठमाडौं । नेपाल तरुण दलले अफगानिस्तानमा रहेका नेपालीहरूको उद्धार गर्न सरकारसँग आग्रह गरेको छ ।

तरुण दलका अध्यक्ष जितजंग बस्नेतले आइतबार विज्ञप्ति जारी गरेर द्वन्द्वरत अफगानिस्तानबाट स्वदेश आउन चाहने नेपालीहरूलाई तत्कालीन फिर्ता हुने व्यवस्था गर्न माग गरेका हुन् ।

‘अफगानिस्तानको विद्रोही संगठन तालिबानले अफगानिस्तानमा राज्यसत्ता कब्जा गर्ने सम्भावना बढे संगै त्यहाँ विभिन्न काम, पेशा र व्यवसायका कारण रहेका नेपाली नागरिकहरूको सुरक्षाको जोखिम बढेको छ’, अध्यक्ष बस्नेतले भनेका छन् ।

‘यस्तो अवस्थामा द्वन्द्वरत मुलुक अफगानिस्तानबाट आफ्ना नागरिकहरूलाई तत्काल उक्त मुलुक छाड्न र विपत्तीमा परेका नागरिकलाई सरकार आफैले स्वदेश ल्याउन आवश्यक व्यवस्था गर्न एवम् उनीहरूको जीवन रक्षा गर्नको निम्ति संवेदनशील भइदिन सरकारसँग आग्रह गर्दछु’, बस्नेतले भनेका छन् ।

‘अफगानिस्तानको विद्रोही संगठन तालिबानले विदेशी नागरिकलाई अफगानिस्तान छाड्न चाहेमा समय दिएकोले पनि अफगानिस्तानमा ठुलो संख्यामा रहेको नेपाली नागरिकको सुरक्षित घर फिर्ती र त्यहाँ रहेका आफ्ना नागरिकको जीवन रक्षाको सुनिश्चितताको लागि नेपाल सरकारले तत्काल विशेष पहल गर्न नेपाल तरुण दल केन्द्रीय समिति यसै विज्ञप्तिमार्फत सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ’, अध्यक्ष बस्नेतको विज्ञप्तिमा भनिएको छ ।

यसैबीच, नेपाल तरुण दलका कोषाध्यक्ष विद्वान गुरुङले गृहमन्त्री बालकृष्ण खाणसँग सिंहदरबारस्थित गृहमन्त्रालयमा भेटेर अफगानिस्तानमा रहेका नेपालीहरूको उद्धार गर्न आग्रह गरेका छन् ।

गृहमन्त्री खाणसँगको भेटमा तरुण दलका पूर्व कार्यबाहक अध्यक्ष जन्मजय तिमिल्सिना, युवा नेतृ मुना भुसाललगायतको उपस्थिति रहेको थियो ।

Published : Sunday, 2021 August 15, 8:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया