साढे तीन वर्षसम्म कम्युनिस्टले दुःख दिए, कांग्रेसले अब जनताको सेवा गर्छः राणा
चापागाउँ । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वराज्यमन्त्री उदयशम्शेर राणाले कम्युनिस्टहरूको चरित्रले जनताले साढे तीन वर्षसम्म हदैसम्मको समस्या र दुःख पाएको बताएका छन् ।
शनिबार ललितपुरमा नेपाल तरुण दल गोदावरी नगर कमिटी वडा नं. १० ले आयोजना गरेको वडा स्तरीय तरुण भेला तथा कार्यसमिति विस्तार कार्यक्रमलाई सम्बोधन गर्दै राणाले आफू पनि काम नगर्ने अरुले गरेको कामको विरोध गर्ने कम्युनिस्टहरूको चरित्र रहेको बताए ।
नेता राणाले कम्युनिष्टहरूले झुठ्ठा नारा, आश्वासन दिएर चुनाव जितेपछि चार वर्षसम्म केहि काम गर्न नसकेको बताए ।
‘कम्युनिष्टहरूले जितेको चार वर्ष फुस्रा भाषणमा सीमित भए’, राणाले भने, ‘ओली सरकारले एकपछि अर्को संविधान विरोधी कार्य गर्दै गएर अन्तमा पतन भएको छ ।’
ओलीले गरेका गल्तीको जिम्मेवारी ओलीले नै लिनुपर्ने बताएका तरुण दलको पूर्वअध्यक्ष समेत रहेका राणाले भने, ‘ललितपुरमा पनि राम्रो र नराम्रो कामको जिम्मेवारी एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले लिनुपर्छ ।’
ललितपुरको क्षेत्र नं. १ मा कम्युनिस्टले जितेर कुनै परिवर्तन हुन नसकेको उनले बताएका छन् ।
ललितपुरमा प्रत्येक सांसदले प्रयोग गर्न पाउने सांसद विकास कोषबाट प्राप्त हुने रकम बाड्ने बाहेक कुनै पनि नयाँ विकास हुन नसकेको राणाले बताएका छन् ।
हरिसिद्धि–गोदावरी, बज्रबाराही–चापागाउँ सडकको उदाहरण दिँदै कांग्रेस नेता राणाले भने, ‘सांसद भएको चार वर्षसम्म आफ्नै घर जाने बाटो बनाउन नसक्ने संसदको हैसियत के हो ?’
कांग्रेसका नेता र शुभेच्छुक संस्थाहरूबाट ललितपुरमा राहत वितरण भएकोमा प्रशंसा गरेका छन् ।
कांग्रेस नेता राणाले कोरोनाको महामारीमा स्वास्थ्य सामग्री र खाद्य सामग्री वितरण गर्दा उल्टै सामाजिक सञ्जालमा स्टाटस लेखेर तथा दातृसंस्थालाई फोन गरेर धम्क्याउनेसम्मको काम एमालेका सांसदले गरेको बताए । काम गर्न नसकेर माखो मार्न नसकेका एमालेका सांसदहरूलाई औकातमा बस्न नेता राणाले चेतावनी दिएका छन् ।
नेपाली कांग्रेस खेलकुद विभाग सचिव एवम् युवा नेता मीनकृष्ण महर्जनले तरुण दल कांग्रेसको मेरुदण्ड भएको बताए । उनले पार्टीले तरुण दललाई अझ मजबुत बनाउनुपर्ने बताएका छन् ।
गोदावरी नगरपालिकाका नगर प्रमुख गजेन्द्र महर्जनले कोरोनाको महामारी न्यूनीकरणमा तरुण दलले खेलेको भूमिकाको प्रशंसा गरेका छन् ।
गोदावरी नगरपालिका वडा नं. १० का वडा सभापति रामकुमार तामाङको अध्यक्षतामा १०१ सदस्यीय वडा कार्यसमिति विस्तार भएको छ ।
कार्यक्रममा ललितपुर कांग्रेसका नेताहरू पुरुषोत्तम सिलवाल, प्रभाकर पोखरेल, वशिष्ठ अधिकारी, रामकृष्ण हुमागाइँ, ऋषि देव फुँयाल, रविन्स शर्मा, वडा नं. ५ का वडाध्यक्ष मिलन सिलवाल, विमलचन्द्र विष्ट, नगर सभापति सुरज श्रेष्ठ, तरुण दलका जिल्ला सभापति शिवराम महर्जन, शेखर न्यौपाने, तरुण नगर सभापति बिक्रम श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया