तरुणलाई जिस्कायो भने युथ फोर्स–वाइसीएल आफै भष्म हुन्छः मीनकृष्ण महर्जन
चापागाउँ । नेपाली कांग्रेसका युवा नेता एवम् खेलकुद विभागका सचिव मीनकृष्ण महर्जनले तरुण दलका कार्यकर्ताहरूलाई नजिस्काउन युथ फोर्स र वाईसीएललाई चेतावनी दिएका छन् ।
ललितपुरको तरुण दल गोदावरी नगरको वडा नम्बर १० कार्यसमिति बिस्तार कार्यक्रमलाई सम्बोधन गर्दै महर्जनले तरुण दललाई युथ फोर्स र वाइसीएलले जिस्कायो भने आफै भष्म हुने चेतावनी दिए ।
कांग्रेसका नेताहरूले तरुण दलका कार्यकर्तालाई प्रयोगको रुपमा भन्दा पनि रचनात्मक काममा लगाउन नेताहरूलाई आग्रह गरेका छन् ।
नेता महर्जनले पार्टीलाई अप्ठ्यारो पर्दा, आन्दोलन गर्दा चुनावको समयमा युवाहरू परिचालन गर्दा, विपक्ष पार्टीसँग सामना गर्दा तरुण दल चाहिने भन्दै नेताहरू कुर्सीमा पुग्दा तरुण दलका कार्यकर्ताहरूलाई बिर्सिने परम्परा अन्त्य हुनुपर्ने बताए ।
नेतृत्वबाट तरुणहरूलाई भुल्ने परम्पराले गर्दा तरुण दलका कार्यकर्ताहरूमा निराशा छाएको महर्जनले बताएका छन् ।
नेताहरूले कार्यकर्तालाई प्रयोग मात्र गर्दा परेका बेला तरुणहरूमा किन सहयोग गर्ने भन्ने भावना पलाउन सक्ने बताएका नेता महर्जनले सत्तामा रहँदा कार्यकर्तालाई भुल्न नहुने बताए ।
कार्यकर्ताहरू सम्हाल्न नसकेकै कारण कांग्रेस २३ सिटमा सीमित हुनुपरेको बताएका उनले भने, ‘रगत रहुञ्जेल कार्यकर्तालाई जुम्राले रगत चुसे जसरी चुसेको चुस्यै गर्छन् । मौका मिल्दा कार्यकर्तालाई जिम्मेवारी दिएर काममा लगाउनुपर्छ ।’
झण्डै दुईतिहाइको कम्युनिस्टहरू असफल भएपछि सरकारको नेतृत्व कांग्रेसको हातमा आएको बताएका विभागका सचिव महर्जनले नेताहरूको आचारणमा सुधार हुन नसकेको गुनासो गरे ।
उनले भने, ‘अहिले पनि पहिलेको जस्तै तेरो र मेरो, नातावाद कृपावाद, चाकडीवादमा नेताहरू सीमित हुनु हुँदैन ।’
‘नेताहरूले कुन कार्यकर्ताको कति क्षमता छ भनेर कार्यकर्ताको पहिचान गर्नुपर्छ । कार्यकर्तालाई क्षमता बुभेर जिम्मेवारी नदिने हो भने कांग्रेस पार्टी इतिहासमा सीमित हुने अवस्थामा जान सक्छ’, नेता महर्जनले भनेका छन् ।
उनले कांग्रेसमा रहेको आन्तर्घातको रोगलाई अन्त्य गर्नुपर्ने बताएका छन् । ‘अन्तर्घातको रोग हटाउन चुनावको समयमा तरुण दलका कार्यकर्ता परिचालन गर्नुपर्छ । अन्तर्घातीहरूलाई कोठामा थुनेर भाटे कारबाही गर्नुपर्छ’, उनले भनेका छन् ।
सिन्धुपाल्चोक जिल्लामा अन्तर्घातीलाई कारबाही गर्न राम्रो अभियान चलाइएको बताएका युवा नेता महर्जनले ललितपुरमा पनि अन्तर्घातीलाई तह लगाउने जिम्मेवारी तरुणलाई दिनुपर्ने बताए ।
तरुण भेलामा गोदावरी नगरपालिका वडा नम्बर १० मा १०१ जनाको तरुण दलको कार्यसमिति गठन गरिएको छ ।








बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया