कांग्रेस नेता बानियाँद्वारा मकवानपुरलाई ५० हजार डोज खोपको माग, राज्यमन्त्री श्रेष्ठ सकारात्मक

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँले मकवानपुर जिल्लाका लागि स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठसँग ५० हजार डोज कोरोनाबिरूद्धको खोप माग गरेका छन् ।

सोमबार मन्त्रालयमा राज्यमन्त्री श्रेष्ठसँग भएको भेटवार्तामा नेता बानियाँले मकवानपुरका जनताका लागि ५० हजार डोज खोप माग गरेका हुन् ।

नेता बानियाँको मागपछि राज्यमन्त्री श्रेष्ठले मकवानपुरका लागि कोरोनाविरुद्धको खोप पठाउन पहल गर्ने आश्वासन दिएका छन् ।

२० दिनभित्र मकवानपुरमा ५० हजार डोज कोरोनाबिरूद्धको खोप पठाउने स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले प्रतिबद्धता व्यक्त गरेको बानियाँले जानकारी दिएका छन् ।

प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले मकवानपुर जिल्लामा १ लाख डोज खोप आवश्यक रहेको जानकारी कांग्रेस नेता बानियाँलाई गराएका थिए ।

तत्काल पहिलो चरणमा ५० हजार डोज व्यवस्थापन गर्ने राज्यमन्त्री श्रेष्ठले प्रतिबद्धता व्यक्त गरेका छन् ।

मन्त्रालयबाट प्राप्त खोप हेटौंडा बजारका पसल सञ्चालक, साना एवम् मझौला व्यवसायी, निर्माण क्षेत्रका मजदुर, औद्योगिक मजदुरसहित सर्वसाधारणलाई लगाइदिन नेता बानियाँले सुझाव दिएका छन् ।

बानियाँले बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको अस्पतालसहित जिल्लाका स्वास्थ्य संस्थालाई कोरोनाको दोश्रो र सम्भावित तेस्रो भेरिएन्टका लागि तयारी अवस्थामा राख्न मन्त्रालयबाट आवश्यक व्यवस्था गर्न पनि आग्रह गरेका छन् ।

उनले बागमती प्रदेशसहित देशभर यथाशीघ्र खोप व्यवस्थापनका लागि स्वास्थ्य राज्यमन्त्री श्रेष्ठलाई सुझाव दिएका छन् ।

राज्यमन्त्री श्रेष्ठले नेपाल आइपुगेको खोप केन्द्रमा भण्डारण गरेर नराखी चाँडोभन्दा चाँडो जिल्लामा पठाउने काम भइरहेको बताएका छन् ।

उनले नेपाली कांग्रेसका कार्यकर्ताको शिर झुक्ने गरेर कुनै काम नगर्नेभन्दै प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई सफल बनाउने आफ्नो उदेश्य रहेको बताएको नेता बानियाँले बताए ।

छलफलमा स्वास्थ्य मन्त्रालयका सचिव डा.रोशन पोखरेल, नेपाली कांग्रेस मकवानपुरका क्षेत्रीय सभापति लोक मोक्तान, नेता राजेन्द्र घिसिङ लगायतका नेताहरूको सहभागिता रहेको थियो ।

Published : Monday, 2021 August 9, 11:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया