मनाङका बाढीपहिरो पीडितको समस्या समाधान गर्न पहल शुरु, कांग्रेस सभापति गुरुङले दिए धन्यावाद

चामे । नेपाली कांग्रेस नेतृत्वको सरकारले मनाङ र सिन्धुपाल्चोक जिल्लालाई बाढीपहिरो संकटग्रस्त जिल्ला घोषणा गरेसँगै मनाङ जिल्लाका पीडितहरूको समस्या समाधान गर्न पहल शुरु भएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाणसँग नेपाली कांग्रेस मनाङका सभापति एवम् पूर्वराज्यमन्त्री टेकबहादुर गुरुङले सम्पर्क गरेर मनाङ जिल्लामा बाढीपहिरोले पुर्‍याएको क्षतिका विषयमा जानकारी गराएका थिए । सभापति गुरुङको पहलपछि सरकारले मनाङलाई बाढीपहिरो संकटग्रस्त जिल्लाका रुपमा घोषणा गरेको थियो ।

सभापति गुरुङसहितका नेताहरूको पहलमा खाद्यान्नसहितका राहत वितरण गर्नेदेखि भौतिक क्षति भएका सडक र अन्य संरचनाहरू बनाउन पहल भएका छन् ।

यसैबीच, शनिबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उर्जा, जलश्रोत तथा सिचाइँमन्त्री पम्फा भुसाल, नेपाली कांग्रेस मनाङका सभापति एवम् पूर्वराज्यमन्त्री टेकबहादुर गुरुङ, सांसद देवप्रसाद गुरुङसहितका नेताहरूले बाढीपहिरोले क्षति पुर्‍याएको स्थलको अवलोकन गरेका छन् ।

टोलीमा उर्जा सचिव सचिव देवेन्द्र कार्की, प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र शाक्य, सह–सचिव कलानिधि पौडेल, महानिर्देशक अर्जुन थापा लगायतको पनि उपस्थिति रहेको थियो ।

नेपाली कांग्रेस मनाङका सभापति टेकबहादुर गुरुङले बाढीपहिरोबाट क्षति भएका घर, सडक र भौतिक संरचना छिटोभन्दा छिटो बनाउन आग्रह गरेका छन् । उनले मनाङका जनताको समस्याको समाधान गरिदिन आग्रह गरे । सभापति गुरुङले बाढीपहिरोबाट पीडित बनेकाहरूको समस्या बुझ्न काठमाडौंबाट आएको टोलीलाई धन्यावाद दिएका छन् ।

मनाङ–ङिश्याङ गाउँपालिका– १ पिसाङ, चामे गाउँपालिका, नाशोँ गाउँपालिकाको दानक्यूलगायतका स्थानमा पुगेर टोलीले बाढीपहिरोबाट भएको क्षतिको अवलोकन गरेको थियो ।

कांग्रेसका सभापति गुरुङले ५५० मेगावाटको हाईड्रो पावरलाई छिटो सञ्चालनमा ल्याउन सरोकारवालाहरूसँग आग्रह गरेका छन् । सभापति गुरुङले हाइड्रो पावर सञ्चालनको माग गरेपछि भ्रमण टोलीले सो विषयमा आफूहरूको ध्यान केन्द्रित भएको जनाएको छ ।

यसअघि, मनाङ कांग्रेसका सभापति टेकबहादुर गुरुङ, प्रतिनिधि सभाका सांसद कर्मा घले, गण्डकी प्रदेशका सांसद चिन्ता गुरुङसहितका नेताहरूको पहलमा ३० लाखभन्दा बढीको खाद्यान्न, लत्ताकपडासहितको राहत वितरण गरेका छन् ।

Published : Monday, 2021 August 9, 3:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया