बागमतीमा मुख्यमन्त्रीका मान्छेको हेटौँडामा बबाल काण्ड, एमालेको नाकै भाँचे

हेटौँडा । बागमती प्रदेशका कम्युनिस्ट मुख्यमन्त्री डोरमणि पौडेलको दल एमालेका युवा नेता एवम् मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालक समितिका सदस्य हीरा वाइबा अभद्र व्यवहार गरेको अभियोगमा पक्राउ परेका छन् ।

वाइबाले प्रतिष्ठानको हेटौँडा अस्पतालमा कार्यरत महिला चिकित्सकमाथि अभद्र व्यवहार गरेको अभियोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख (एसपी) सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।

एसपी सिंहले भने, ‘प्रतिष्ठानका सदस्य हीरा वाइबालाई शुक्रबार चिकित्सकहरूलाई अभद्र व्यवहार गरेको अभियोगमा पक्राउ गरेका छौँ । घटनाका सम्बन्धमा अनुसन्धान शुरु गरेका छौँ ।’

शुक्रबार पक्राउ परेका वाइबा मुख्यमन्त्री पौडेलको विश्वासपात्र युवा नेता हुन् । मुख्यमन्त्री पौडेलले वाइबालाई सञ्चालक समितिको सदस्यमा नियुक्त गरेका थिए ।

भीमफेदी गाउँपालिकाको त्रिखण्डीमा प्रतिष्ठानले साउन १६ गते आयोजना गरेको वनभोज कार्यक्रममा अत्यधिक मदिरा सेवन गरेर एमालेका नेता एवम् सदस्य वाइबाले अभद्र व्यवहार गरेको उजुरी महिला चिकित्सकहरूले प्रहरी समक्ष दिएका छन् ।

चिकित्सकहरूले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय मकवानपुर, जिल्ला प्रहरी कार्यालय र प्रतिष्ठान उप–कुलपतिको कार्यालयमा पनि वाइबाविरुद्ध उजुरी दिएका छन् ।

एमालेका मुख्यमन्त्री शंकर पोखरेल र नेता महेश बस्नेतलाई सांसद अपहरणको अभियोग लागेर सामाजिक सञ्जाल तात्तिएका बेला बागमती प्रदेशका मुख्यमन्त्री पौडेलका विश्वासपात्र नेता एवम् प्रतिष्ठानका सदस्य वाइबाले हेटौँडामा उत्पात काण्ड मच्चाएका हुन् ।

Published : Friday, 2021 August 6, 10:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया