विदेशबाट ल्याउने मोबाइल र टिभीमा छुट दिन अर्थमन्त्रीको निर्देशन
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले विदेशबाट घर फर्कने नेपालीहरूले ल्याउने एउटा मोबाइल र टिभी सेटका विषयमा भन्सारमा सास्ती दिने गरेको भन्दै रिसाएका छन् ।
बिहीवार भन्सार विभागको निरीक्षण तथा ब्रिफिङ्ग लिने क्रममा मन्त्री शर्माले विदेशबाट आउने नेपालीले ल्याउने एउटा मोबाइल सेट र एउटा टिभीलाई भन्सार छुट दिन सकिन्छ भने सहुलियत दिन निर्देशन दिएका छन् ।
वैदेशिक रोजगारीबाट फर्कनेले विमानस्थल भन्सारमा दुःख पाइरहेको गुनासो आफूले सुनेको उनले बताएका छन् ।
‘जसले विदेशबाट डलर पठाएर विप्रेषण बढाएको छ, घर फर्कंदा उसैले बोकेर ल्याएको एउटा मोबाइल र एउटा टीभी सेटको विषयलाई लिएर भन्सारमा सास्ती पाउने गरेको किन ?’, प्रश्न गर्दै मन्त्री शर्माले भने, ‘वैदेशिक रोजगारीबाट फर्कने नेपालीले ल्याउने घरायसी प्रयोजनका सामानमा भन्सार छुट दिन सकिन्छ कि सकिदैन ?’
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारका कर्मचारीले विदेशबाट आउने नेपालीले ल्याउने मोबाइल र टिभीमा भन्सारको झन्झट लगाएर दुःख दिँदै आएको छ । कामचोर कर्मचारीका कारण विदेशमा मजदुरी गरेर आउने नेपालीहरूले ठूलो समस्या भाग्दै आएका छन् ।
तत्कालीन खड्गप्रसाद ओली नेतृत्वको सरकारले विदेशबाट आउने नेपालीलाई दुःख दिन थालेको आरोप छ ।
मन्त्री शर्माले नेपाल आवद्ध रहेका व्यापारसम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय सन्धि सम्झौता के कति देशको हितमा छन् भन्ने कुराको समीक्षा गर्न जरुरी रहेको बताएका छन् ।
‘नेपालसमेत सहभागी भएका अन्तर्राष्ट्रिय व्यापार सम्झौता नेपालको लागि परिणामुखी भए नभएको सम्बन्धमा अध्ययन जरुरी भइसकेको छ’, उनले भने, ‘तिनको अध्ययन समीक्षा गरेर आवश्यक कदम चाल्नुपर्ने अवस्था देखिएको छ ।’
आफूले यतिखेर राजश्व छुटका विभिन्न फाइलमा निर्णय गरिरहेको प्रसंग उल्लेख गर्दै मन्त्री शर्माले भने, ‘यस्ता छुट सुविधाहरू ताप्लेजुङ्ग र हुम्लाका किसानसम्म पुग्ने गरेको पाइएन ।’
‘आधारभूत तहका जनताले पनि छुट सुविधाको उपयोग गर्न पाउनुप¥यो’, उनले भने, ‘सामान्य खालका करदातालाई कस्ने ठूलठूलाहरूलाई मात्र छुट दिने काम भइरहेको देखियो ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया