हेलिकप्टरबाट पैसा ल्याएर बस्नेतले दिए हेलम्बु–मेलम्चीका ७ वडालाई लाखका दरले सहयोग

हेलम्बु । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले हेलम्बु ६ र मेलम्चीको एउटा गरि ७ वटा वडाहरूलाई नगद १–१ लाखका दरले आर्थिक सहयोग गरेका छन् ।

कांग्रेस नेता बस्नेतले बुधबार स्थानीय जनप्रतिनिधि र नेपाली कांग्रेसका वडा इकाई सभपातिहरूको रोहबरमा आर्थिक सहयोग गरेका हुन् । नेता बस्नेत आर्थिक सहयोग हेलिकप्टरमार्फत लगेर हस्तान्तरण गरेका थिए ।

‘बाढीपहिरोबाट पीडा ग्रस्त हेलम्बुका ६ ओटै वडाहरू र मेलम्ची नगरपालिका वडा नं. ६ तालामाराङलाई नेपाली कांग्रेस वडा इकाई सभापतिहरू र निर्वाचित जनप्रतिनिधिहरूको रोहबरमा रु. १ लाखको दरले नगद रकम राहत स्वरुप हस्तान्तरण गरिएको छ’, कांग्रेस नेता बस्नेतले भनेका छन् ।

नेता बस्नेतले भने, ‘चनौटेमा बेलीबृज निर्माण गर्नको लागि स्थलगत अबलोकन गरिएको छ ।’

ग्याल्थुममा निर्माण हुँदै गरेको एकीकृत बस्तीलाई जेनेरेटर खरिद गर्नको लागि कांग्रेस नेता बस्नेतले ५० हजार रुपियाँ पनि हस्तान्तरण गरेका छन् ।

उक्त राहत स्वरुप नगद रकम हस्तान्तरणमा सुनकोसी गाउँपालिकाको विशेष सहयोग रहेको बस्नेतले बताएका छन् ।

‘सम्पूर्ण सहयोगी हातहरूलाई धन्यवाद ज्ञापन गर्दछु र स्वदेश तथा विदेशमा रहनुहुने सहयोगी मनहरूमा सहयोग कार्यमा जुट्न हार्दिक अपील गर्दछु’, बस्नेतले भनेका छन् ।

यसैबीच, सिन्धुपाल्चोक जिल्लाको बाढीग्रस्त क्षेत्र हेलम्बु र मेलम्चीको लाईफलाईनको रुपमा रहेको चनौटे पुल बगेपछि उक्त स्थलमा बेलीबृज निर्माण गर्नको लागि प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाणलाई प्रत्यक्ष सम्पर्क गरि अनुरोध गरेको उनले स्मरण गरेका छन् ।

सोही सम्पर्क बमोजिम नेपाल सरकारबाट बेलीबृज निर्माण गर्ने निर्णय पारित गरिएको भन्दै बस्नेतले सरकारलाई धन्यावाद दिएका छन् ।

कांग्रेस नेता बस्नेतले बाढीग्रस्त क्षेत्रमा निरीक्षण गर्न र पुल निर्माणको लागि स्थलगत अवलोकन गरिदिन प्रधानमन्त्री देउवासँग आग्रह गरेका छन् ।

कांग्रेस नेता बस्नेतले सिन्धुपाल्चोक जिल्लाका बाढीपहिरो पीडितलाई सहयोग गर्दै आएका छन् । उनले कोरोना महामारीका बेला पनि कोरोना अस्थायी अस्पताल बनाउनेदेखि उपचारमा ठूलो सहयोग गरेका छन् ।

Published : Wednesday, 2021 August 4, 7:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया