मन्त्रिमण्डल विस्तारमा कहाँ भयो समस्या ? देउवा तयार, यताबाट आएन सिग्नल

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार विस्तारमा समस्या भएको छ । देउवा मन्त्रिमण्डल विस्तारमा तयारी अवस्थामा छन् । सत्ता साझेदार दलका नेताहरूका कारण मन्त्रिमण्डल विस्तारमा केही कठिनाइ भएको चर्चा छ ।

सत्ता साझेदार दलहरूभित्र मन्त्री चयनामा समस्या भएपछि देउवाले मन्त्रिमण्डल विस्तार गर्न नसकेका हुन् । देउवाले सरकारको नेतृत्व सम्हालेको तीन साताभन्दा धेरै भइसकेको छ । एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई पर्खिएका कारण मन्त्रिमण्डल विस्तारमा ढिला भएको सिंहदरबारतिर चर्चा छ ।

हुन त देउवाले मन्त्रीहरूको नाम पठाउन माओवादी केन्द्र र जनता समाजवादी पार्टी, नेपाल (जसपा)लाई आग्रह गरेको स्रोतको भनाइ छ ।

माओवादी र जसपाभित्र मन्त्री बन्ने आकांक्षीहरू धेरै छन् । सोही कारण ती दलहरूले मन्त्रीको नाम पठाउन सकेका छैनन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक रुपमा पार्टीभित्र धेरै सांसदहरू मन्त्री बन्न आकांक्षी भएपछि तनाव भएको बताएका थिए ।

जसपाका अध्यक्ष उपेन्द्र यादवको हालत पनि त्यस्तै छ । जसपामा मन्त्री बन्न अधिकांश सांसदहरू लागेका छन् ।

नेपाली कांग्रेसभित्र पनि उस्तै समस्या छ । मन्त्री बन्नेहरूको लस्कर लामो भएपछि देउवालाई तनाब भएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले हैसियतभन्दा धेरै मन्त्रीहरू माग गरेर देउवालाई तनाव दिइरहेको कांग्रेसभित्र चर्चा छ ।

एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई पनि देउवा र प्रचण्डले सरकारमा सहभागी हुन आग्रह गर्दै आएका छन् । पार्टी एकताका लागि पछिल्लो समय बाक्लै गृहकार्य भएपछि नेपाल समूहले सरकारमा जाने इच्छा जनाएका छैन ।

मेटमणि चौधरी, प्रेम आले, किसान श्रेष्ठसहितका नेताहरू सरकारमा जाने पक्षमा छन् । तर अन्य नेताहरू सरकारमा जान नहुने पक्षमा छन् ।

सत्ता गठबन्धनको कार्यदलले साझा कार्यक्रम बनाएर मात्रै मन्त्रिमण्डल विस्तार गर्दा राम्रो हुने सुझाव दिएको छ । कार्यदलले बुधबार आफ्नो प्रतिवेदन तयार पारेर शीर्ष नेताहरूलाई दियो भने बिहीबार वा शुक्रबारसम्म मन्त्रिमण्डल विस्तार हुन सक्ने चर्चा छ ।

Published : Wednesday, 2021 August 4, 10:40 am

फेसबुकबाट तपाईको प्रतिक्रिया