पौडेल–कोइराला समूहको निर्णयले १४औँ महाधिवेशनलाई झड्का, धेरै कार्यकर्ताको मन दुख्यो
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइराला समूहले क्रियाशील सदस्यता वितरणमा खोट भएको भन्दै विवाद रहेका जिल्लाहरूमा पुरानै सदस्यतामार्फत महाधिवेशन गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
काठमाडौंको ठमेलस्थित केन्द्रीय सदस्य प्रकाशमान सिंहको निवासमा मंगलबार बसेको पौडेल–कोइराला गुटको बैठकले विधान र मापदण्ड विपरीत आएका क्रियाशील सदस्यलाई स्वीकार नगर्ने निर्णय गरेको केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले जानकारी दिए ।
नेता केसीले आकाश र पातालबाट आएका क्रियाशील सदस्यहरूलाई स्वीकार्न गन नसकिने बताएका छन् ।
क्रियाशील सदस्यताका विषयमा विवाद देखिएका ठाउँहरूमा १३औं महाधिवेशनका प्रतिनिधिलाई कायम गरेर महाधिवेशन गर्नुपर्ने निर्णय पौडेल–कोइराला गुटले गरेको छ ।
पौडेल–कोइराला समूहले क्रियाशील सदस्यताको सबै नवीकरण वडा तथा क्षेत्रबाटै आउनुपर्ने जनाएको छ ।
विधानमा भएको व्यवस्था क्रियाशील वितरण र नवीकरणमा लागू हुनुपर्ने पौडेल–कोइराला समूहको निष्कर्ष छ ।
कोरोना काललाई शून्य समय मान्ने भनेर अदालतले कर संकलनका लागि दिएको आदेशलाई नजिर मान्न नसकिने पौडेल–कोइराला समूहको निष्कर्ष छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले १४औँ महाधिवेशनको तयारी तीब्र रुपमा अगाडि बढाएका बेला पौडेल–कोइराला समूहले क्रियाशील विवादमा नयाँ बखेडा झिक्ने संकेत गरेको छ । केही जिल्लाहरूमा क्रियाशील सदस्यता वितरणको विवाद छ । ती जिल्लाको विवाद शीर्ष नेतृत्वमा गम्भीर भएर छलफल गर्ने हो भने मिलाउन सकिन्छ ।
तर, पौडेल–कोइराला समूहले विवाद मिलाउनेभन्दा पनि विवादलाई थाँती राखेर ती विवाद रहेका जिल्लाका नयाँ सदस्यहरूलाई पार्टीभन्दा बाहिर राखेर महाधिवेशन गर्ने रणनीति तयार पारेका छन् । पौडेल–कोइराला समूहको यो निर्णयले धेरै कांग्रेसीहरूको मन दुखाएको छ ।
पौडेल–कोइराला समूहको गुटको बैठकमा नेता पौडेल, महामन्त्री कोइराला, प्रकाशमान सिंह, रामशरण महत, अर्जुननरसिंह केसी, मीनेन्द्र रिजाल, बलबहादुर केसीलगायतका नेताहरूको सहभागिता रहेको थियो ।
केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला समूहलाई पौडेल–कोइराला समूहले बोलाएको थिएन ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया