दाङ–रोल्पा घर भएका ५ जनाको ग्याङले ४ करोडको उत्पात काण्ड मच्चायो

काठमाडौं । प्रहरीले बौद्ध धर्मको प्राचीन पुरातात्विक बहुमूल्य ग्रन्थ भनेर ठगी गर्ने ५ जनाको समूहका दुई जनालाई पक्राउ गरेको छ ।

प्रलोभनमा पारी नगद रकम ठगी गर्ने सप्तरी जिल्लाको राजविराज नगरपालिका–३ घर भई काठमाडौंको मैतीदेवी बस्दै आएका ४७ वर्षीय प्रशान्तप्रताप सिंह र दाङ जिल्लाको शान्तिनगर गाउँपालिका– ४ घर भई हाल काठमाडौंको मृगस्थली बस्दै आएका ६५ वर्षीय पूर्णबहादुर मगर ‘छन्त्याल’लाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरूको समूहले रोल्पा जिल्लाको परिवर्तन गाउँपालिका–२ स्थायी घर भई हाल काठमाडौंको ईचंगुनारायण बस्ने २८ वर्षीय भीमबहादुर डाँगी समेतलाई ठगी गरेको प्रहरीले जनाएको छ । पुरातात्विक बौद्ध धर्मग्रन्थलाई ४ करोड पर्ने भन्दै त्यसलाई बन्धकीमा राखेर तीन लाख ५ हजार लिएका थिए ।

पक्राउ परेको समूहले स्याङ्जा जिल्लाको वालिङ नगरपालिका–६ स्थाई घर भई हाल काठमाडौंको सरस्वतीनगर बस्ने ४२ वर्षीय विष्णुप्रसाद अर्यालबाट १२ लाख रुपियाँ, १५ लाख ५ हजार लिई झुक्याई ठगी गरेको उजुरीमा उल्लेख छ ।

उनीहरूलाई प्रहरीको टोलीले बुधबार न्युरोडबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि महानगरीय प्रहरी परिसर टेकु पठाएको छ ।

फरार हुनेमा रोल्पा जिल्लाको लिवाङ नगरपालिका–९ कुआपातल घर भएका ५० वर्षीय बेगम राना मगर, रोल्पा जिल्लाको रोल्पा नगरपालिका– ८ जङकोट घर भएका ३७ वर्षीय डम्मर पुन मगर, रोल्पा जिल्लाकै रोल्पा नगरपालिका–८ जङकोट घर भएका ३७ वर्षीय रामचन्द्र राना मगर रहेको प्रहरीले जनाएको छ ।

Published : Thursday, 2021 July 29, 7:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया