सिटौलाद्वारा गगनको नाम काटेर विवादास्पद उमाकान्तको नाम मन्त्रीमा सिफारिस

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले युवा नेता एवम् केन्द्रीय सदस्य गगनकुमार थापाको नाम मन्त्रीबाट काटिदिएका छन् ।

सिटौला समूहबाट कांग्रेसभित्र बिचारको राजनीति गर्दै आएका सांसद थापालाई मन्त्रीको सूचीबाट हटाइएको हो । सिटौलाले थापाको नाम काटेर पूर्वमन्त्री उमाकान्त चौधरीको नाम अगाडि बढाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका चौधरीले घुस खाएर कांग्रेसको बदनाम गरेका थिए । चौधरीको ठूलो आलोचना भएको थियो । अहिले फेरि सिटौलाले चौधरीलाई मन्त्री बनाउन गुटभित्रबाट निर्णय गराएको स्रोतले जनाएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार सिटौलाई एक जना मन्त्री सिफारिस गर्न भनेका थिए ।

देउवाको आग्रहपछि सिटौलाले काठमाडौंको गौशालास्थित विश्वास कम्प्लेक्समा रहेको सम्पर्क कार्यालयमा गुटको बैठक राखेर विवादित नेता चौधरीको नाम मन्त्रीमा सिफारिस गर्ने निर्णय सुनाएको स्रोतको भनाइ छ ।

सिटौला समूहमा सिनियर नेता एवम् सांसद भीमसेनदास प्रधान छन् । प्रधानलाई पनि सिटौलाले रोकेका छन् । गुटभित्र सबैभन्दा जुनियर नेता चौधरीलाई मन्त्रीमा सिफारिस गरेपछि सिटौलाको आलोचना भएको छ ।

सिटौला समूहबाट मन्त्रीका लागि सिफारिस भएका चौधरी बारा जिल्ला निवासी हुन् । चौधरीले बारा जिल्लामा क्रियाशील सदस्यता वितरणमा बण्डर मच्चाएर विवाद खडा गरेका छन् । चौधरीको हर्कतविरुद्ध बाराका जिल्ला सभापतिसहित ४ वटै क्षेत्रीय सभापतिहरू कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा धर्नामा बसेका छन् ।

महामारीका बेला युवा नेता थापालाई स्वास्थ्य तथा जनसंख्या मन्त्री बनाउँदा जनताको पक्षमा काम हुने थियो भन्नेहरू धेरै छन् । तर, सिटौलाले गुटभित्र अविश्वासिला काम गरेको भन्दै थापाको नाम काटेको चर्चा छ ।

Published : Thursday, 2021 July 29, 11:42 am

फेसबुकबाट तपाईको प्रतिक्रिया