मोहन बस्नेतले एमाले–माओवादीमा फेरि पहिरो झारिदिए, बलेफीमा युवाहरू कांग्रेसमा प्रवेश
बलेफी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोक जिल्लामा एमाले र माओवादी केन्द्रका झण्डै दुई सय युवाहरूलाई पार्टीमा प्रवेश गराएका छन् ।
बलेफी बजारमा बलेफी गाउँपालिका नेपाली कांग्रेसको पार्टी कार्यालायलाई मंगलबार उद्घाटन गर्ने क्रममा एमाले र माओवादीका नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन् । नवप्रवेशीहरूलाई नेता बस्नेतले भव्य रुपमा स्वागत गरेका छन् ।
नेता बस्नेतले सिन्धुपाल्चोकको विकासको जिम्मेवारी कांग्रेस र आफूले लिने बताएका छन् । उनले विकासका लागि कम्युनिस्टको पछाडि नलाग्न सबैलाई अनुरोध गरेका छन् । उनले भने, ‘विकास गर्न कहाँबाट पैसा ल्याउनुपर्छ हामीलाई थाहा छ । विकास गर्ने हुती कम्युनिस्टको छैन । हामीले गर्छौं ।’
कांग्रेस नेता बस्नेतले कम्युनिस्टहरूलाई झुठको खेती गरेर जनतालाई नझुक्याउन चेतावनी समेत दिएका छन् ।
केन्द्रीय सदस्य विष्णुबिक्रम थापाले पनि कांग्रेसमा आकर्षण बढ्दै गएको बताएका छन् । उनले कांग्रेसमा प्रवेश गर्नेहरू दिन प्रतिदिन बढ्दै गएको भन्दै क्रियाशील सदस्यता दिन पार्टीले कञ्जुस्याँ गर्न नहुने बताएका छन् ।
कार्यक्रममा नेता बस्नेतका साथै कांग्रेसका केन्द्रीय सदस्य विष्णुबिक्रम थापासहितका सिन्धुपाल्चोक कांग्रेसका नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।
कांग्रेस प्रवेश गर्नेमा बलेफी गाउँपालिका, जुगल गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालिकाका एमाले र माओवादीका नेता कार्यकर्ता छन् ।
यसअघि, सोमबार भक्तपुरको कौशलटारमा आयोजित पार्टी प्रवेश तथा कार्यकर्ता भेला कार्यक्रममा एमाले र माओवादीका झण्डै ५ सय नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका थिए । उनीहरूलाई पनि बस्नेतले नै पार्टीमा स्वागत गरेका थिए ।














बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया