कांग्रेसका डा.रिजालले ‘अहँकारी’ एमालेलाई यसरी नङ्ग्याए, कालोनिलो बने नेताहरू

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा.मीनेन्द्र रिजालले सत्ता बाहिर हुँदा पनि अहंकार नदेखाउन एमालेलाई चेतावनी दिएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने बसेको प्रतिनिधि सभाको आइतबारको बैठकलाई सम्बोधन गर्दै रिजालले सत्तामा हुँदा अहंकार देखाएकै कारण बाहिरिनुपरेको बताए । उनले अदालतलाई चुनौती नदिन एमालेलाई चेतावनी दिएका छन् ।

कांग्रेसका सांसद रिजालले भने, ‘सचेत मनले लेखिएको संविधान हो । अदालतले प्रधानमन्त्री नियुक्ति गरेको होइन । धेरै उड्ने काम पनि नगर्नुस्, ठाउँमा बस्नुस् ।’

सत्ता कसरी चल्छ भन्ने कुरा प्रधानमन्त्री देउवाको सरकारले देखाउने रिजालले बताएका छन् ।

‘सत्ता बाहिर हुँदा पनि अहंकार नबोक्नुस् । प्रतिपक्ष हेरौँला, सरकार कसरी चल्छ हामी देखाउछौँ’, उनले भनेका छन्, ‘वीपीको पार्टीका मान्छे हौँ हामी । नेपालको अदालतले कठिन दिनमा पनि बाटो देखाएको छ ।’उनले भने, ‘हिजो जनता संक्रमणमा हुँदा के–के गरियो ? इनफ इज इनफ भनेर जनता सडकमा आएका होइनन् ? खोप र औषधि खरिदमा भ्रष्टाचार हुँदैन देउवा सरकारबाट यो विश्वास दिलाउन चाहन्छौँ ।’

कोभिड लागे लागोस्, तर सरकारसम्म आवाज पुर्‍याउनुपर्छ भनेर जनता इनफ इज इनफ भनेर सडकमा आएको, संसदीय समितिहरुले एकसेएक भ्रष्टाचारबारे छानबिन गर्नु परेको उनले स्मरण गरे ।

‘त्यस्तो दिन भोलि आउँदैन, त्यो चाहिँ विश्वास छ शेरबहादुर देउवामाथि,’ आफूभन्दा अगाडि बोलेका एमाले सांसद प्रदीप ज्ञवालीको तर्कको खण्डन गर्दै सांसद रिजालले भने, तपाईंहरुलाई पनि यहाँबाट पाखा लगाउन होइन, हरेक दिन सुनेका टिकाटिप्पणीबाट सच्चिन्छौं ।’

एमालेका सांसद प्रदीप ज्ञवालीको तर्कको खण्डन गर्ने क्रममा कांग्रेस सांसद रिजालले सर्वोच्चको फैसलाको बचाउ गरे । ओली नेतृत्वको सरकार संविधान भत्काउने बाटोमा हिँडेको र संसद जोगाउन विवेकको मत प्रयोग गर्ने संविधानको धारा ७६९५० माथि समेत आक्रमण गरिएको भन्दै उनले भने, ‘संविधान भत्काउने प्रवृत्तिविरुद्ध अदालत गएका हौं । मिलेमतोमा पदीय मर्यादा बिर्सिएर काम गर्नेलाई संविधान छ, संवैधानिक सर्वोच्च छ भनेर सम्झाउने काम मात्र गरेको हो ।’

सत्तारुढ कांग्रेस सांसद रिजालले, अदालतले प्रधानमन्त्री नियुक्त गरेको ज्ञवालीको तर्कको पनि खण्डन गरे । ‘अदालतले पुष्पकमल दाहाललाई त्यहाँ उभिन लगाएको होइन । माधव नेपाललाई विवेकको मत हाल्न लगाएको होइन,’ सम्बोधनका क्रममा उनले भने, ‘तपाईंले लगाएको हो । अहंकारले लगाएको हो ।’

संसद पुनस्र्थापना गर्ने र १४९ सांसदको समर्थन जुटाएका देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने सर्वोच्चको फैसलाले अहंकार देखाउने प्रवृत्ति परास्त भएको तथा लोकतन्त्र र संविधानवादको जित भएको कांग्रेस सांसद रिजालले बताए ।

एमालेका सांसद प्रदीप ज्ञवालीले अहँकारले भरिएको अभिव्यक्ति दिएपछि कांग्रेसका सांसद रिजालले कडा जवाफ दिएका हुन् ।

Published : Sunday, 2021 July 18, 7:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया