१२० घण्टामै गेम चेञ्ज, ओली जस्तो भाग्ने प्रधानमन्त्री होइनन् देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभाबाट विश्वासको मत लिने भएका छन् । देउवाले प्रधानमन्त्री पदको शपथ लिएको करीव १२० घण्टामा विश्वासको मत लिएर देशको नेतृत्व चलाउन लागेका हुन् ।

प्रधानमन्त्री देउवाले आज (आइतबार) विश्वासको मत लिन प्रस्ताव दर्ता गराएका छन् । विश्वासको मत लिने प्रस्ताव कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सभामुख अग्निप्रसाद सापकोटामार्फत् संसद् सचिवालयमा प्रस्ताव दर्ता गरिसकेको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिएका छन् ।

सर्वोच्च अदालतको आदेशबाट पुनःस्थापित प्रतिनिधि सभाको बैठक आज ४ बजे बस्दै छ । आजैको बैठकबाट देउवाले विश्वासको मत लिन लागेका हुन् ।

विश्वसको मत लिन प्रतिनिधिसभाको बैठक आज दुई चरणमा बस्नेछ । दोस्रो चरणको बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिने कांग्रेसका एक सांसदले बताएका छन् ।

संविधानको धारा ७६ (५) अनुसार नियुक्त प्रधानमन्त्रीले धारा ७६ (४) अनुसार विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । देउवाले धेरै दिन नपर्खेर विश्वासको मत लिन लागेका छन् ।

एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको आग्रहमा विश्वासको मत आजै लिन लागिएको चर्चा छ ।

कांग्रेसका ६१, माओवादी केन्द्रका ४८, सर्वोच्चमा दायर गरिएको रिटमा हस्ताक्षर गरेका माधव नेपाल समूहका २३, पछिल्लो समय उपेन्द्र यादवको पक्ष लागेकासहित १७ जना, राजमोका १ र स्वतन्त्र सांसद् १ जना गरी देउवाको पक्षमा १५१ मत पुग्छ ।

एमालेका अध्यक्ष खड्गप्रसाद ओली समूहले सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

ओलीले प्रधानमन्त्री भएका बेला विश्वासको मत लिन सकेका थिएनन् । विश्वासको मत लिन उनले संसद छल्दै आएका थिए । संसद छल्दै आएका ओलीलाई अन्त्यमा सर्वोच्च अदालतले अपदस्थ गरिदिएको थियो ।

ओलीले संसद छल्न र प्रधानमन्त्रीमा बसिरहन दुई पटकसम्म प्रतिनिधि सभा विघटन गरेका थिए । सर्वोच्च अदालतले संसद विघटन गर्ने ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णय दुबै पटक खारेज गरिदिएको थियो ।

Published : Sunday, 2021 July 18, 11:23 am

फेसबुकबाट तपाईको प्रतिक्रिया